एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन खोटाङको अध्यक्षमा भवकृष्ण ढकाल — OSNepal

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन खोटाङको अध्यक्षमा भवकृष्ण ढकाल

LC (KTM) May 05, 2024 0

खोटाङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट शिक्षकहरूको सङ्गठन एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन खोटाङको अध्यक्षमा भवकृष्ण ढकाल चयन हुनुभएको छ । दिक्तेलस्थित जिल्ला समन्वय समितिको समीक्षालय हलमा शनिबार साँझ सम्पन्न सङ्गठनको छैटौँ जिल्ला अधिवेशनले निवर्तमान जिल्ला सचिव ढकाललाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

एकचालीस सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा गोविन्द कटवाल, सचिवमा सुवासचन्द्र राई तथा अर्थसचिवमा चक्रबहादुर राई चयन हुनुभएको निवर्तमान अध्यक्ष कृष्ण गुरुङले जानकारी दिनुभएको छ । उपाध्यक्षमा चयन हुनुभएका कटवाल प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठन खोटाङको अध्यक्ष परित्याग गरेर एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनमा प्रवेश हुनुभएको हो ।

अधिवेशनले एक सदस्य पछि थप गर्नेगरी ११ सदस्यीय सचिवालय समितिसमेत चयन गरेको निर्वाचन मण्डलले जनाएको छ । जिल्ला सचिवालय समितिमा चार जना पदाधिकारी स्वतः हुने विधानमा व्यवस्था छ भने पर्शुराम राई, सन्तोष विश्वकर्मा, धनकुमारी राई, पार्वती राई, बेनु राई र टीकाराम राईलाई चयन गरिएको निवर्तमान अध्यक्ष गुरुङले जानकारी दिनुभएको छ ।

अधिवेशन उद्घाटन समारोहमा २३ जना पूर्वशिक्षकलाई सम्मान गरिएको थियो । प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठन खोटाङले आजै विज्ञप्ति जारी गरी एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन खोटाङसँग एकता गरेको समेत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर