मनाङका दुई अग्ला पहाडमा चट्टान आरोहण परीक्षण — OSNepal

मनाङका दुई अग्ला पहाडमा चट्टान आरोहण परीक्षण

LC (KTM) May 05, 2024 0

मनाङ, २३ वैशाखः अन्नपूर्ण पदमार्गअन्तर्गतका दुई अग्ला पहाडमा चट्टान आरोहण (रक क्लाइम्बिङ) परीक्षण गरिएको छ । मनाङको चामे गाउँपालिका–५ छिम्बु भिर र मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङ भिरमा चट्टान आरोहण साहसिक खेल परीक्षण गरिएको हो ।

पर्यटन बोर्ड गण्डकी प्रदेशबाट अनुमति लिएर दुई फ्रान्सेली नागरिकसहित दुई नेपालीले ति दुई भिरमा खेल परीक्षण गरेका चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिनुभयो । अन्नपूर्ण पदमार्ग विश्वकै १०औँ अग्लो स्थानमा पर्दछ । उहाँले भन्नुभयो,“चट्टान आरोहणलाई यस पदमार्गको साहसिक खेलको गन्तव्यका रूपमा विकास गर्नुपर्छ । यसले पर्यटकीय क्षेत्र मनाङको विकासमा प्राकृतिक सम्पदाको उपयोग पनि हुन्छ । यसमा प्रदेश सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।”
गाउँपालिकालाई पर्यटनमार्फत समृद्ध बनाउने लक्ष्यमा साहसिक खेलले टेवापुग्ने भएकाले सहमतिपत्र दिएर नै अगाडि बढिरहेको अध्यक्ष घलेको भनाइ थियो ।

चामे–५ का वडाध्यक्ष विजय गुरुङले पनि पदमार्गको आकर्षणवृद्धि र पर्यटन प्रवर्द्धनका लागि समेत रक क्लाइम्बिङको विकास तथा प्रचारप्रसारमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।

पर्यटकीय क्षेत्रमा यस्ता साहसिक खेलले पर्यटन क्षेत्रको विकास र आगमनवृद्धि हुनुका साथै मनाङको प्रचारप्रसार हुने प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले भनाइ छ । “पालिकाबाटै अनुमति लिएर गरिएको रक क्लाइम्बिङ सफल भयो । सम्भवतः नेपालकै अग्लो भिरमा पहिलोपटक यो रक क्लाइम्बिङ हुनसक्छ”, उहाँले भन्नुभयो, “म आफैँ पनि आरोहणमा सहभागी भए । यस खेलको माध्यमबाट पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरेको छ । त्यसैले यस मार्गको विकास र साहसिक पदमार्गमा साहसिक खेल प्रवर्द्धनमा जोड दिनुपर्छ ।”

पाँचदिने आरोहण परीक्षणमा नेपाली, विदेशीसहित पालिकाका जनप्रतिनिधि, स्थानीयलगायतको सहभागिता रहेको थियो । यसबाट पर्यटन व्यवसायी उत्साहित भएका छन् । पर्यटकलाई आकर्षित गर्न प्राकृतिक सम्पदाको उपयोग गर्न सकिएमा यहाँ अझै बढी बाह्य तथा आन्तरिक पर्यटक भित्र्याउन सकिने उहाँहरूको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर