मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत, कांग्रेसका सदस्यले गरे बैठकमै नाराबाजी — OSNepal

मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत, कांग्रेसका सदस्यले गरे बैठकमै नाराबाजी

LC (KTM) May 05, 2024 0

गण्डकी, २३ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत प्राप्त भएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि गर्नुभएको प्रस्ताव बहुमतले पारित भएको गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले घोषणा गर्नुभयो ।

आजको बैठकमा मुख्यमन्त्री अधिकारीले गर्नुभएको विश्वासको मतको प्रस्तावमा ३० मत परेको छ भने विपक्षमा २७ र तटस्थ दुई मत रहेको छ । विश्वासको पक्षमा नेकपा एमालेका २२, नेकपा माओवादीका सात र स्वतन्त्र प्रदेशसभा सदस्य एक जनाले मत दिनुभएको छ । विपक्षमा नेपाली कांग्रेसका २७ जना प्रदेशसभा सदस्यले मत दिनुुभएको छ ।

मत विभाजनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दुईजना सदस्य तटस्थ बस्नुभएको छ । सर्वोच्च अदालतको आदेशलाई आधार मान्दै ३० मतलाई बहुमत घोषणा गरेपछि नेपाली कांग्रेसका सदस्यले बैठकस्थलमा नै नाराबाजी गरेका थिए । यसअघि बैठकमा मुख्यमन्त्री अधिकारीले राख्नुभएको विश्वासको प्रस्तावमा दलका नेताहरूले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सभामुखलाई कुनै दल विशेषको पक्षधरता नलिन आग्रह गर्नुभयो । सभामुखले आफ्नो निर्णय गर्दा संविधानमा लेखिएको कुरा ख्याल गर्न उहाँको आग्रह थियो ।

नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता हरिबहादुर चुमानले प्रदेशसभा विघटनबाट जोगाउने जिम्मा सभामुखको हुने बताउनुहुँदै रेफ्रीको भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता पञ्चराम गुरुङले नागरिकको चाहाना विपरीत केन्द्रदेखि प्रदेशसम्म बनेको यो गठबन्धन पवित्र नभएको र मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत दिन नसकिने धारणा राख्नुभयो । उठेका प्रश्नको जवाफ दिनुहुँदै मुख्यमन्त्री अधिकारीले दलहरू एक आपसमा आरोप प्रत्यारोपमा लाग्नुभन्दा मिलेर अघि बढ्न उपयुक्त हुने धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर