मध्यपश्चिम विश्वविद्यालयलाई प्रतिस्पर्धी बनाउँछौँ : उपकुलपति गौतम — OSNepal

मध्यपश्चिम विश्वविद्यालयलाई प्रतिस्पर्धी बनाउँछौँ : उपकुलपति गौतम

LC (KTM) May 07, 2024 0

कर्णाली- मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा ध्रुवकुमार गौतमले विश्वविद्यालयलाई प्रतिस्पर्धी बनाउने बताउनुभएको छ ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित विश्वविद्यालयद्वारा नवनियुक्त उपकुलपति प्राडा गौतमको स्वागत तथा पदभार ग्रहण कार्यक्रममा उहाँले प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न सकेमात्र विश्वबजारमा बिक्न सक्ने बताउनुभयो । “हामीले चार सय वर्ष पुरानो इतिहास बोकेका विश्वविद्यालयसँग प्रतिस्पर्धा गर्नुपर्नेछ,” उहाँले भन्नुभयो, “खोज, अध्ययन, अनुसन्धान र अन्वेषण कार्य क्षमतालाई बढाउँदै लैजान्छौँ ।”

विश्वविद्यालय बनाउने अभियानमा सबैको ऐक्यबद्धता आवश्यक रहेको जनाउनुहुँदै उपकुलपति गौतमले भन्नुभयो, “मध्यपश्चिम विश्वविद्यालयको विकासमा मैले सकेको सबै प्रयास गर्नेछु । यद्यपि मेरो एक्लो प्रयासले केही हुँदैन । सबै सरोकारवालाले सहयोग गर्नुपर्दछ, अनिमात्र विश्वबजारमा बिक्न सक्ने जनशक्ति उत्पादन गर्न सकिन्छ ।”

विश्वविद्यालय ज्ञान र सिर्जनाको भण्डार भएको बताउनुहुँदै उहाँले आर्थिक रुपले विश्वविद्यालयलाई आत्मनिर्भर बनाउनुपर्ने जिम्मेवारी काँधमा आएको उल्लेख गर्नुभयो । सेवा गर्ने कर्मचारी र संरचना निर्माणमा विश्वविद्यालय प्रशासनले ध्यान दिने उपकुलपति प्राडा गौतमको भनाइ थियो । उहाँले मध्यपश्चिम विश्वविद्यालयलाई विश्वप्रतिष्ठित विश्वविद्यालयका रुपमा स्थापित गर्ने गरी कार्य प्रारम्भ गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले आजै पदभार ग्रहण गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर