भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न — OSNepal

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

LC (KTM) May 07, 2024 0

चितवन, २५ वैशाख ः भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले काम गरेको हो ।

पहिलो चरणमा बसेनीदेखि गोन्द्राङसम्म भूमिगत तारबाट विद्युत् प्रसारणको काम समेत भइसकेको छ । आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार सुरुआती समयमा भएको सम्झौताअनुसार ७० प्रतिशत काम भएको भए पनि ठेक्काको काम थप भएसँगै प्रगति कम भएको हो । आगामी एक साताभित्र ११ केभिए लाइन जडान भएका पाँचवटा फिडरसमेत भूमिगत तवरबाट सञ्चालनको तयारी गरिएको छ ।

पछिल्लो सम्झौताअनुसार भरतपुर महानगरपालिकाभित्र चनौली लाइन जडानका लागि भरतपुर महानगरको मुख्य सहरी क्षेत्रमा भूमिगतमार्फत गर्दै लगिने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बसेनीदेखि भरतपुर महानगरपालिका अगाडिसम्म, आँपटारीदेखि पोखरा बसपार्कसम्मको सडक र केन्द्रीय बस ट्रमिनलदेखि गोन्द्राङसम्मको सडक थपिएको छ”, केन्द्रीय बस ट्रमिनलदेखि गोन्द्राङसम्मको सडकमा पहिला ३३ केभिए लाइन मात्रै भूमिगत गर्ने भनिएको भए पनि अहिले थप गरी ११ केभिए र चार सय भोल्टको लाइनलाई भूमिगत गरिने उहाँले बताउनुभयो ।

भरतपुरको पुलचोकदेखि गोन्द्राङसम्मको छ लेन सडक र बाइपास सडकमा मात्रै भूमिगत गर्न थालिएकोमा अहिले नयाँ क्षेत्र थप गरेसँगै बजेट पनि थप गरिएको सुवेदीले बताउनुभयो । उहाँका अनुसार भरतपुर महानगरभित्र विद्युतीय तार भूमिगत गर्नका लागि रु एक अर्ब ४० करोड लागत लाग्ने छ । सुरुआती समयमा रु एक अर्ब ३० करोड बजेट भरतपुरलाई विनियोजन गरिएको थियो ।

निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले लिएर विद्युतीय तार भूमिगत गर्ने काम गरिरहेको उहाँले बताउनुभयो । ठेक्का सम्झौताअनुसार पहिलो चरणको समय सन् २०२४ को जनवारी २० मा सकिएसँगै पुनः आठ महिनाका लागि समय थप गरी काम अघि बढाइएको छ । काम थप हुँदै जाँदा समय पनि थप गरिँदै गएको उहाँले बताउनुभयो । एसियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो । महानगरका सहरी क्षेत्रमा हावाहुरीका कारण धेरै समस्या हुने गरेको छ । तार भूमिगत भएसँगै यो समस्या हट्ने र सहरी क्षेत्रको सौन्दर्यता बढ्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर