राजनीतिकर्मीलाई संविधान र कानुनको ज्ञानदिन जरूरी छ : बिजुक्छेँ — OSNepal

राजनीतिकर्मीलाई संविधान र कानुनको ज्ञानदिन जरूरी छ : बिजुक्छेँ

LC (KTM) May 09, 2024 0

भक्तपुर, २७ वैशाख : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले राजनीतिक दलका नेता कार्यकर्तालाई संविधान र कानुनको ज्ञान दिन जरूरी रहेको बताउनुभएको छ ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ लको ‘ख्वप न्याय दबु’ पुस्तकको आज विमोचन गर्दै उहाँले नेता, कार्यकर्तालगायत सबैले कानुन बुझ्न अत्यावश्यक रहेको बताउनुभएको हो । उहाँँले भन्नुभयो, “हरेक क्षेत्रमा कानुनको ज्ञान भएको मानिस चाहिन्छ । त्यसमा पनि राजनीति गर्ने हरेक नेता तथा कार्यकर्तालाई सबैभन्दा बढी कानुनको ज्ञान चाहिन्छ । कानुनी ज्ञानबिनाको राजनीति अपूर्ण हुन्छ ।”

कारागाराको जीवन भोगिरहेका धेरैजसो कैदीहरूले ऐन, कानुनको अज्ञानताका कारण समस्या भोग्न बाध्यहुने चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले नागरिकलाई अनिवार्यरूपमा कानुनका सर्वमान्य सिद्धान्त जानकारी गराउन सके आपराधिक घटनामा कमी आउने उहाँको भनाइ थियो । त्यसैगरी उहाँले निर्वाचन घोषणापत्रअनुसार काम नगर्ने राजनीतिक पार्टीलाई कारबाही हुने व्यवस्था संविधान र कानुनमा उल्लेख गरिनुपर्ने समेत बताउनुभयो ।

कलेज सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप कलेजले जनताका छोराछोरीलाई कम शुल्कमा कानुन विषयमा उच्च शिक्षा प्रदान गर्न र नयाँ पुस्तामा २१औँ शताब्दीका चुनौती सामना गर्नसक्ने ज्ञान र चेतना प्रदान गर्न भूमिका खेलिरहेको बताउनुभयो । उहाँले देश र समाजप्रति उत्तरदायी कानुनका विद्यार्थी बनाउने, शिक्षालाई उत्पादन र श्रमसँग जोड्ने तथा श्रमलाई सम्मान गर्ने नागरिक तयार गर्ने लक्ष्यका साथ आफूहरू क्रियाशील रहेको समेत बताउनुभयो ।

कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालय मानविकी तथा कानुन सङ्कायका डीन प्राडा अनिलकुमार पोखरेल, फौजदारी कानुनका विज्ञ एवम् वरिष्ठ अधिवक्ता प्रा डा रञ्जितभक्त प्रधानाङ्ग, भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधीश वासुदेव न्यौपाने, कानुन अध्ययन समाज नेपालका अध्यक्ष अधिवक्ता रामप्रसाद प्रजापति, ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठ, ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारीलगाउतले कानुन प्रत्येक व्यक्तिले जान्नु आवश्यक रहेको बताउँदै विद्यालय तहमै सामान्य कानुनको ज्ञान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर