गण्डकी प्रदेशका कला, साहित्यको प्रचारप्रसारमा लागौँ: मुख्यमन्त्री अधिकारी — OSNepal

गण्डकी प्रदेशका कला, साहित्यको प्रचारप्रसारमा लागौँ: मुख्यमन्त्री अधिकारी

LC (KTM) May 11, 2024 0

लेखनाथ (कास्की), २९ वैशाखः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकरीले प्रदेशका कला र साहित्यलाई विश्वभर फैलाउन प्रचारप्रसारमा लाग्नुपर्ने बताउनुभएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठान पोखराको तेस्रो स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले त्यस्तो बताउनुभएको हो ।

उहाँले देशमा ख्यातिप्राप्त लेखनाथ पौडेल, भानुभक्त आचार्य, माधव घिमिरेजस्ता कवि यसै क्षेत्रमा जन्मेकाले प्रदेश कला, साहित्यमा निकै धनी रहेको समेत बताउनुभयो । “लोक संस्कृतिमा समेत धनी मानिएको गण्डकी प्रदेशलाई कला र साहित्यमा अगाडि बढाउँदै विश्वभर फैलाउन जरुरी छ । त्यसका लागि पर्यटनको राजधानी पोखरामा यस क्षेत्रको कला, संस्कृति, वेशभूषा र नेपाली भाषाको विकास गर्न जरुरी छ”, उहाँले भन्नुभयो ।

पर्यटकीय राजधानी पोखरामा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याएर यहाँको कला र संस्कृतिका बारेमा जानकारी र प्रचारप्रसार गर्न जरुरी रहेकामा उहाँले जोड दिनुभयो ।

त्यसअवसरमा कला, साहित्य र सांस्कृतिक क्षेत्रमा योगदान पुर्याएको स्रष्टालाई नगदसहित सम्मान गरिएको थियो । साहित्यतर्फ सरस्वती प्रतीक्षा, भूपेन्द्र खड्का, कलातर्फ गोपाल श्रेष्ठ, छिरिङफोन्जो गुरुङ, संस्कृतितर्फ खगराज शर्मा, लोकदोहोरीतर्फ पुरुषोत्तम न्यौपाने र नृत्यतर्फ रवीन गुरुङलाई मुख्यमन्त्री अधिकारीले सम्मान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर