बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका — OSNepal

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

LC (KTM) May 11, 2024 0

काठमाडौँ, २९ वैशाख : काठमाडौँ महानगरपालिका आर्थिक वर्ष २०८१/८२ का लागि बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुटिसकेको छ । कामपाका उपप्रमुख सुनिता डङ्गोलले कार्यक्रम छनोट आवश्यकताको प्राथमिकीकरण गरेर तत्काल चाहिने, कार्यान्वयन गर्न सकिने योजना छान्ने तयारी भइरहेको बताउनुभयो ।

“विषयगत समितिहरुको बैठकबाट चालु आवको समीक्षा र आगामी आवको कार्यक्रमको प्रस्ताव ल्याउने र यसरी आएका विवरणलाई सङ्कलन गरी ढाँचामा राख्न योजना अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख सुमित्रा लामिछाने सुवेदीको संयोजकत्वमा बजेट तथा अनुगमन महाशाखा प्रमुख विकास चित्रकार र मानव संसाधन विकास महाशाखा प्रमुख प्रवीण प्याकुरेल सदस्य रहेको समितिलाई जिम्मेवारी दिइएको छ”, उहाँले भन्नुभयो ।

योजना तर्जुमा सम्बन्धी काम ‘बजेटको पूर्व तयारी’ हरेक वर्षको मङ्सिरबाट सुरु हुने उपप्रमुख डङ्गोलले बताउनुभयो । विषयगत क्षेत्रसँग सम्बन्धित सूचना सङ्कलन र विश्लेषण गरेर स्थितिपत्र अद्यावधिक गर्ने यसको पहिलो काम हो । उक्त काम विषयगत विभाग, महाशाखा र शाखाले मङ्सिर मसान्तभित्र सम्पन्न गर्नुपर्छ ।

माघ मसान्तभित्र विषयगत क्षेत्र विभाजन गरेर सदस्यलाई जिम्मेवारी दिनुपर्छ । यो जिम्मेवारी कार्यपालिकाले दिनुपर्छ । कामपामा विषयगत समिति भएकाले यसको जिम्मेवारी कार्यपालिकाले समितिलाई दिइएको छ ।

फागुनदेखि ‘स्रोत अनुमान र कूल बजेट सीमा निर्धारण’ को काम सुरु हुन्छ । सङ्घ र प्रदेशबाट अनुदान र राजस्व बाँडफाँट, रोयल्टीको सीमा र मार्गदर्शन प्राप्त गर्ने, सरोकारवालासँग छलफल गर्ने, बजेट तथा कार्यक्रमको प्राथमिकता निर्धारण गर्ने, कूल बजेटको अनुमान, सीमा निर्धारण र बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन तयार गर्ने, यो मार्गदर्शन विभाग, महाशाखा, शाखा तथा वडालाई उपलब्ध गराउने काम हुन्छ ।

विषयगत समितिमा छलफल, प्राथमिकता निर्धारण र साङ्केतीकरण, बजेट (राजस्व, व्यय र वित्तीय व्यवस्था) तथा वार्षिक विकास कार्यक्रमको प्रस्ताव तयार गर्ने, गैरसरकारी सङ्घसंस्था र विकास साझेदारका कार्यक्रम समावेश गर्ने, आर्थिक विधेयक र विनियोजन विधेयकको मस्यौदा तयार पर्नुपर्ने उपप्रमुख डङ्गोलले बताउनुभयो ।

“यसरी तयार पारिएका विधेयकहरु कार्यपालिकाबाट स्वीकृत गराएर असार १० गतेभित्र नगर सभामा पेस गर्नुपर्छ । यसरी पेस गरिएको प्रस्तावलाई असार मसान्तभित्र सभाबाट पारित गराउनुपर्छ । यसरी योजना तर्जुमाका चरण पूरा हुन्छ”, उहाँले भन्नुभयो ।

यही वैशाख १० गते महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि मार्गदर्शन पारित गरिसकेको कामपा कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर