चितवनमा ५२ विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण — OSNepal

चितवनमा ५२ विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण

LC (KTM) May 13, 2024 0
मुग्लिन (चितवन),- चितवनमा ५२ विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरिएको छ । ‘सपना भिलेज सोसल इम्प्याक्ट’ले स्थानीय सरकारसँग सहकार्य गरी उनीहरुका लागि घर निर्माण गरिदिएको हो । ‘विपन्नलाई सपनाको घर’ कार्यक्रमअन्तर्गत घर बनाउनै नसक्ने आर्थिक अवस्था कमजोर भएका परिवारको पहिचान गरी सुरक्षित आवास निर्माण गरिएको सपना भिलेजका अध्यक्ष धु्रव गिरीले बताउनुभयो । उहाँका अनुसार रत्ननगर, खैरहनी र राप्तीमा घर निर्माण गरिएको हो ।
  रत्ननगर–७ राउत टोलमा चार घर निर्माण गरी आइतबार चार परिवारलाई हस्तान्तरण गरिएको अध्यक्ष गिरीले बताउनुभयो । वडा कार्यालय र सपना भिलेजको संयुक्त लगानीमा घर निर्माण गरिएको हो । झुप्रोमा बस्दै आएका सुदमिया राउत, केसिया महतो, इतोरिया महतो र सुष्मा राउतलाई घर हस्तान्तरण गरिएको हो । वडाध्यक्ष सजना महतो र सपना भिलेजका अध्यक्ष गिरीले चार जनालाई घरको चाबी हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा वडाध्यक्ष महतोले आर्थिक अभावका कारण घर बनाउन सक्ने अवस्थामा नरहेका समुदायलाई सपना भिलेजसँग सहकार्य गरी सुरक्षित आवास निर्माण गरिएको बताउनुभयो । प्रतिघर निर्माण गर्न रु सात लाख ५० हजार खर्च भएको सपना भिलेजका कार्यक्रम निर्देशक सुजन बस्नेतले जानकारी दिनुभयो । भिलेजले प्रतिघर रु सात लाख र वडा कार्यालयले प्रतिघर रु ५० हजार लगानी गरेका छन् ।
  सपना भिलेजका अध्यक्ष गिरीका अनुसार २०६९ सालदेखि विपन्नका लागि आवास निर्माण सुरु गरेको भन्दै अहिलेसम्म ५२ वटा घर निर्माण गरिसकेको बताउनुभयो । सीमान्तकृत मुसहर समुदायका २१ घर पुनःनिर्माणसहित जिल्लाका विभिन्न पालिकाका अतिविपन्न परिवारको पहिचान गरी सुरक्षित आवास निर्माण गरिएको उहाँको भनाइ छ ।
  अध्यक्ष गिरिका अनुसार कालिका नगरपालिकाको सिद्धिमा चेपाङ समुदायको आर्थिक अवस्थामा सुधार ल्याउन शिक्षा, स्वास्थ्य र आयआर्जनका कार्यक्रम प्रभावकारी भएपछि सपना भिलेजले अहिले इच्छाकामना गाउँपालिका–१ का चेपाङ समुदायको विकासका लागि काम गरिरहेको छ ।
स्थानीय स्रोत साधनको परिचालन गरी चेपाङ समुदायलाई जीविकोपार्जनको आधार तयार गर्ने, विद्यालय खाजा कार्यक्रम, विद्यालयको भवन निर्माण, चेपाङ समुदायकै सहभागितामा कफी खेती तथा तरकारी खेतीका लागि काम भइरहेको सपना भिलेजका अध्यक्ष गिरीले बताउनुभयो । इच्छाकामना वडा नम्बर १ स्थित  राष्ट्रिय आधारभूत विद्यालय भाराङ्मा आवाससहितको विद्यालयको पक्की भवन निर्माण कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर