स्पष्ट योजनाका साथ कार्य सम्पादन गर्न मुख्यमन्त्री अधिकारीको निर्देशन — OSNepal

स्पष्ट योजनाका साथ कार्य सम्पादन गर्न मुख्यमन्त्री अधिकारीको निर्देशन

LC (KTM) May 13, 2024 0

गण्डकी- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्पष्ट योजनाका साथ कार्य सम्पादन गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आईतबार आयोजित आर्थिक वर्ष ०८०/८१ को कार्य प्रगति विवरणसहितको छलफलमा उहाँले कार्यक्षमताका आधारमा प्रदेश सरकारप्रति जनताको आशा बढाउनुपर्ने बताउनुभयो । “प्रदेशको औचित्य पुष्टि गर्ने कुरा तपाईंको हातमा छ, कर्मचारीको प्रभावकारी कार्यसम्पादनले जनतामा आशा जगाउँछ” मुख्यमन्त्री अधिकारीले भन्नुभयो, “यसका लागि मन्त्री, सचिवदेखि कर्मचारीको कार्य प्रगतिको खाँचो छ ।”

संविधानले दुई वर्ष सरकार नफेर्ने कल्पना गरेपनि समर्थन गर्ने दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिने प्रावधानले स्थिर सरकार बन्न नसकेको उहाँको भनाइ थियो । उहाँले दैनिक कार्य प्रभावित हुने गरी बिदामा नबस्न कर्मचारीलाई निर्देशन दिनुभयो । टुक्रे योजनामा बजेट छुट्याउँदा प्रभावकारी नहुने भएकाले आगामी आर्थिक वर्षको नीति तथा योजना एवम् बजेट निर्माण गर्दा विशेष ध्यान दिन निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “राजनीतिभन्दा माथि उठेर विकास निर्माणमा जुट्न अपरिहार्य छ ।”

गण्डकी प्रदेशका प्रम्ुख सचिव लक्ष्मीकुमारी बस्नेत र सूचना अधिकारी राजन भट्टराईले आव ०८०/८१ को कार्यप्रगति विवरण प्रस्तुत गरी मुख्यमन्त्री अधिकारीको जिज्ञासामा जवाफ दिनुभएको थियो ।प्रदेशस्तरका आयोजना कार्यान्वयनमा कतिपय सङ्घीय कानुन अवरोध बनेकाले समयमै आयोजना सम्पन्न गर्न नसकिएको बताउनुभयो ।

प्रदेशमा स्थापना हुने ठूला उद्योग व्यवसाय दर्ता र नवीकरणका लागि प्रदेशस्तरमा सम्बन्धित निकाय नहुँदा कठिनाइ भोग्नुपरेको मुख्यमन्त्री अधिकारीको भनाइ थियो । सङ्घीय विनियोजन ऐनका कारण प्रदेश सरकारले सङ्घीय एकाइलाई बजेट अख्तियारी प्रदान गरी काम गराउन कठिनाइ भएको, प्रदेश मन्त्रालय अन्तर्गतका भवन रहेका जग्गाको स्वामित्व प्रदेश सरकार मातहत ल्याउनुपर्नेमा जोड दिनुभयो । ‘प्रि-मनसुन’ सुरु भइसकेकाले मनसुनका कारण सम्भावित क्षति न्यूनीकरण गर्न विपद् भइहालेमा तत्काल उद्धार राहतलगायत कार्य गर्न तयारी अवस्थामा रहनुपर्नेमा उहाँले जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर