निर्वाचन प्रणालीबारे सभापति खतिवडा र प्रमुख आयुक्त थपलियाबीच छलफल — OSNepal

निर्वाचन प्रणालीबारे सभापति खतिवडा र प्रमुख आयुक्त थपलियाबीच छलफल

LC (KTM) May 13, 2024 0

काठमाडौँ, ३१ वैशाख : राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडा र प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाबीच निर्वाचन प्रणाली सुधार गर्ने विषयमा छलफल भएको छ । निर्वाचन आयोगमा आज भएको भेटमा सभापति खतिवडाले बहुमतसहितको स्थिर सरकार दिन नसक्ने निर्वाचन प्रणाली आवश्यक नरहेको बताउनुभयो ।

आयोगस्थित प्रमुख आयुक्तको कार्यकक्षमा भएको छलफलमा सभापति खतिवडाले निर्वाचन प्रणालीमै संशोधन जरुरी रहेकाले सबैले आ–आफ्नो तहबाट लाग्नुपर्नेमा जोड दिनुभयो । अहिलेको निर्वाचन प्रणाली साह्रै महँगो भएको र यसलाई न्यूनीकरण गर्न समयमै ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

“अहिलेको प्रणालीले कुनै निकास दिने नदेखिएकाले संविधान संशोधन गरेर भए पनि परिमार्जन गर्न जरुरी भइसकेको छ,” सभापति खतिवडाले भन्नुभयो, “प्रतिनिधिसभालाई पूर्ण प्रत्यक्ष निर्वाचित बनाऔँ, त्यसमै आरक्षण सिट तोकौँ । राष्ट्रियसभालाई पूर्ण समानुपातिक गरौँ ।”

एकपटक समानुपातिक सांसद भइसकेपछि अर्को पटक सोही पद्धतिबाट हुन नपाउने व्यवस्था गर्नसमेत सभापति खतिवडाले प्रस्ताव गर्नुभयो । सभापति खतिवडाले आगामी निर्वाचन कानुनमा आफू कार्यरत रहेकै ठाउँबाट मत हाल्न पाउनेगरी मतदानको व्यवस्था गर्न तथा ज्येष्ठ नागरिक र अपाङ्गलाई घरमै मतदानको व्यवस्था मिलाउन अनुरोध गर्नुभयो ।

प्रमुख आयुक्त थपलियाले निर्वाचन प्रणाली फेर्ने विषयमा दलहरूकै तदारूकता महत्वपूर्ण हुने बताउनुहुँदै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सहभागितामूलक बनाउन एकीकृत निर्वाचन कानुनको मस्यौदामा प्रस्ताव गरिएको जानकारी दिनुभयो । निर्वाचन महँगो हुनुमा दलहरुकै कार्यशैली जिम्मेवार रहेको बताउनुहुँदै प्रमुख आयुक्त थपलियाले दलहरु स्वयम् संवेदनशील बन्नुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर