काठमाडौं १५ साउन । नेकपा (एमाले) का नेता तथा सांसद मेटमणि चौधरीले आफ्नो समुहले नयाँ पार्टी निमार्ण गर्न नसके आफुहरुले आफ्नै आँखा अगाडी केपी ओली अध्यक्ष रहेको पार्टी समाप्त भएको देख्नेने बताएका छन् । आज शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै चौधरीले यस्तो प्रतिक्रिया दिएका हुन् ।
ओली अध्यक्ष रहेको एमालेबाट निर्वाचनमा जाँदा १६५ निर्वाचन क्षेत्रमध्ये कुनैपनि निर्वाचन क्षेत्रमा जित्न नसकेर समाप्त हुने पोजिसन आउनसक्ने उल्लेख गर्दै चौधरीले यस्तो बताएका हुन् ।
एमालेलाई सग्लो राख्ने हो भने एमाले र केपी ओलीबीच कुनै प्रकारको साईनोरसम्बन्ध राख्न नहुने बताएका चौधरीले भने, ‘अब तपाईँहरु हेर्दै जानुहोस, संसदीय दलभित्रपनि केही दिनभित्रपनि हामी त्यो खालको वातावरण बनाउनेछौं । र, केन्द्रीय कमिटीमा त केपी ओली र हाम्रो बीचमा त निकै थोरै संख्यामात्रै तलमाथि हो । र, त्यो भित्रपनि एकखालको माहोल बन्दैछ। यदि त्यो पोजिसनमा हामी पुग्यौं भने केपी ओलीलाई संसदीय दलको नेता र पार्टी अध्यक्षबाट हटाउनुपर्छ र हटाउन सकेनौं भने नेकपा एमालेलाई जोगाउन सक्दैनौं । त्यो त तयारी हुनुपर्छ । र, हामी प्रयास गरिरहेका छौं ‘।
प्रतिनिधिसभा पूरा कार्यकाल चलोस भनेर आफुहरुले शेरबहादुर देउवालाई समर्थन गरेको स्मरण गराउँदै उनले फेरि यस्तै सन्की शासक आएर प्रतिनिधिसभा विघटन गर्ने हिम्मत नगरोस भनेर देउवालाई विश्वासको मत पनि दिएको स्पष्ट पारेका छन् ।
आफ्नो पक्षमा ४० प्रतिशत संख्या सजिलै पुग्ने भएकाले आफुहरुलाई दल विभाजनसम्बन्धी अध्यादेश आवश्यक नभएको पनि चौधरीले संकेत गरेका छन् ।
अब आफ्नो समुह केहि दिनमा नै सरकारमा जाने बताएका उनले अघि भने, हामीले यति नै संख्यामा मन्त्रालय चाहिन्छ भनेर खोजेको छैन् । तर, समानुपातिक प्रतिनिधित्व हुनुनै पर्छ । सम्भवतः मलाई के लाग्छ भने ६ को वरिपरिको मन्त्रालयमा हामी सहभागी हुन्छौं ।’