आज सीता जयन्ती, राष्ट्रपतिद्धारा शुभकामना — OSNepal

आज सीता जयन्ती, राष्ट्रपतिद्धारा शुभकामना

LC (KTM) May 16, 2024 0
काठमाडौँ, ३ जेठः राष्ट्रपति रामचन्द्र पौडेलले लैङ्गिक विभेदलगायत सबै प्रकारका सामाजिक र साँस्कृतिक विभेदको अन्त्य गर्दै प्रगतिशील, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि राष्ट्रिय विभूति सीताबाट सबैमा प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ । सीता जयन्तीका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले जगत् जननीका रूपमा पूजाअर्चना गरिने मातृशक्ति सीता मिथिलाभूमि नेपालकी सुपुत्री हुनु हामी सबै नेपालीका लागि गौरवको विषय भएको बताउनुभयो ।
माता सीतालाई धैर्यता, सहनशीलता र उदारताकी प्रतिमूर्तिकारूपमा लिइने उल्लेख गर्दै राष्ट्रपति पौडेलले मिथिलाकालीन सभ्यतादेखि नै समाजमा महिलाको स्थान उच्च राख्न मार्गदर्शन गर्ने आदर्श नारीका रूपमा समेत माता सीताको श्रद्धा गर्ने गरिएको स्मरण गर्नुभयो ।
प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन विशेष पूजा अर्चनासहित सीता उत्पत्ति दिवस अर्थात् सीता जयन्ती मनाउने गरिन्छ । राष्ट्रपति पौडेलले त्रेतायुगमा मिथिलाका राजा जनकले यज्ञको अनुष्ठान गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको वर्णन वाल्मीकि रामायण र पुराणहरूमा गरिएको उल्लेख गर्नुभएको छ ।
“माता सीताको जन्म हाम्रो पौराणिक तथा सांस्कृतिक विश्वासको धरोहरकारूपमा रहिआएको छ, जानकी, वैदेही, जनकनन्दिनीलगायत सीताका अन्य धेरै नामहरूलाई श्रद्धापूर्वक लिइने गरिएको छ”, शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले भन्नुभएको छ । उहाँले राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको कामनासमेत गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर