सरकारको प्राथमिकतामा कर्णाली र सुदूरपश्चिम प्रदेशः मन्त्री भण्डारी — OSNepal

सरकारको प्राथमिकतामा कर्णाली र सुदूरपश्चिम प्रदेशः मन्त्री भण्डारी

LC (KTM) May 16, 2024 0

बैतडी, ३ जेठः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले कर्णाली र सुदूरपश्चिमलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । बैतडीको देहिमाडौंमा आज अन्तरपालिका महिला तथा पुरूष भलिबल प्रतियोगिताको उद्घाटनका अवसरमा मन्त्री भण्डारीले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुदूरपश्चिम र कर्णाली प्रदेशलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सुदूरपश्चिम र कर्णाली प्रदेशमा जडीबुटी र खानीसम्बन्धी थुप्रै सम्भावना छन्, ती सम्भावना खोजी गर्ने र उद्योग सञ्चालनको विषयलाई नीति तथा कार्यक्रममा राखिएको छ ।” सरकारको अहिलेको प्राथमिकता विदेश पलायन हुने युवालाई स्वदेशमै रहने वातावरण सिर्जना गर्नु रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “हामीकहाँ सम्भावना धेरै छन् । कृषि, उद्योग र उद्ममशिलता अहिलेको प्राथमिकता हो । युवाहरूलाई उद्यमशिलतालाई सरकारले नीति तथा कार्यक्रम समेटेको पनि छ ।”

सुदूरपश्चिमका खानीहरूको अध्ययनका लागि प्राविधिक टोली पठाइएको बताउदै मन्त्री भण्डारीले बैतडीको फस्फोराइट खानी, बैतडीमा सिमेन्ट उद्योग सञ्चालन गर्न आइएमई ग्रुपसँग छलफल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विकासमा पछाडि परेको सुदूर र कर्णाली प्राथमिकतामा छ । दैजी छेला औद्योगिक क्षेत्र, दोधाराचाँदनी सुक्खा बन्दरगाह, पश्चिम सेती आयोजना अगाडि बढाइदैछ । बैतडीका सबै पालिकामा जडीबुटी पहुँचमार्ग बिस्तार गरिनेछ ।”

फरक प्रसङ्गमा उहाँले विपक्षी दलले सदनलाई बन्धन बनाएको बताउनभयो । उहाँले भन्नुभयो, “सरकारको आगामी आवका नीति तथा कार्यक्रम प्रस्तुत भएपछि नेपाली कांग्रेसले संसद् अवरुद्ध गरेको छ । संसदीय छानबिन समिति बनाउनुपर्ने माग सदन चल्न दिएर पनि उठाउन सकिन्छ । संसद अवरुद्ध हुँदा जनजीविकाका सवाल संसद्मा उठ्न सकेका छैनन् । थुप्रै कानुनहरू अगाडि बढ्न सकेका छैनन् । राष्ट्रिय मुद्दा ओझेलमा परेका छन् ।”

नेपाल खेलकुद महासङ्घको आयोजनामा सुरू भएको अन्तरपालिका भलिबल प्रतियोगितामा जिल्लाका स्थानीय तहका टोलीको सहभागिता छ । प्रतियोगिताको प्रथम पुरुस्कार रु ७७ हजार सात सय ७७, दोस्रो पुरुस्कार रु ५५ हजार पाँच सय ५५, तेस्रो पुरुस्कार रु ४४ हजार चार सय ४४ र सान्त्वना पुरुस्कार रु ३३ हजार तीन सय ३३ रहेको नेपाल खेलकुद महासङ्घ बैतडीका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर