महत्वपूर्ण मुद्दामा राजनीतिक सहमतिबाट निकास निकाल्नुपर्छ : महासचिव गुरुङ — OSNepal

महत्वपूर्ण मुद्दामा राजनीतिक सहमतिबाट निकास निकाल्नुपर्छ : महासचिव गुरुङ

LC (KTM) May 20, 2024 0

काठमाडौँ, ७ जेठ : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले शान्ति प्रक्रियाजस्ता महत्वपूर्ण मुद्दामा राजनीतिक दलको सहमति जरुरी हुने बताउनुभएको छ ।

काठमाडौँमा आज बेपत्ता योद्धा परिवार समाजले आयोजना गरेको ‘बेपत्ता योद्धा दिवस र शान्ति प्रक्रिया’ विषयक अन्तरक्रियामा उहाँले दलहरुबीच एक मत नहुँदा शान्ति प्रक्रियाले पूर्णता पाउन नसकेको जिकिर गर्नुभयो । “दलहरुबीच कतिपय मुद्दामा सहमतिबाट निकास निकाल्न जरुरी छ, एक–दुई दलले चाहेर शान्ति प्रक्रियाका बाँकी काम पूरा हुँदैन, सबैको सहमति चाहिन्छ,” उहाँले भन्नुभयो । आफ्नो पार्टीले प्रयास गरिरहेको तर सम्भव नभएको उल्लेख गर्दै उहाँले शान्ति प्रक्रियामा सहभागी सबै दलको प्रयासले मात्रै निकास निकाल्न सकिने बताउनुभयो ।

विश्वमा शान्ति नचाहनेहरुले चलखेल गरी नेपालमा शान्ति प्रक्रियालाई पूरा गर्न नदिइरहेको गुरुङले उल्लेख गर्नुभयो । अन्तरक्रियामा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राजनीतिक दलका नेताहरुकै कारण शान्ति प्रक्रियाले पूर्णता नपाएको बताउनुभयो ।

अधिकारकर्मी एवं पूर्वसभामुख दमननाथ ढुङ्गानाले नेताहरुले सत्य बताउन नसक्दा शान्ति प्रक्रियाले पूर्णता पाउन नसकेको धारणा व्यक्त गर्नुभयो । उहाँले शान्ति प्रक्रियालाई पूरा गर्न कुनै पनि राजनीतिक दल इच्छुक नभएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर