कांग्रेसको पुरानै अडानका कारण कार्यदलको बैठक निष्कर्षविहीन, शुक्रबार पुनः बस्ने — OSNepal

कांग्रेसको पुरानै अडानका कारण कार्यदलको बैठक निष्कर्षविहीन, शुक्रबार पुनः बस्ने

LC (KTM) May 23, 2024 0

काठमाडौँ। सहकारी छानबिन गर्न संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बिहीबार बसेको बैठक निष्कर्षविहीन बनेको छ।

सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकमा संसदीय छानबिन समितिको कार्यादेशका बारेमा छलफल भएको नेकपा (एमाले)को संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेरै अनुसन्धान गर्नुपर्ने अडानका कारण बैठक निष्कर्षविहीन भएको उहाँको भनाइ छ।

कार्यदलको बैठक शुक्रबार बिहान फेरि बस्ने तय भएको उहाँको भनाइ छ। “बैठक निष्कर्षविहीन भयो”, उहाँले भन्नुभयो, “सहमति जुटन नसकेपछि निष्कर्षविहीन भएको हो। आजको बैठकबाट करिब करिब ठ्याकै टुङ्गो चाहिँ भोलि बिहान ८ः३० बजे लगाउने गरी समितिको केही कार्यादेश विषयमा नजिक पुग्यौँ। ”

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले बैठकमा सरकारपक्षबाट राखिएको मौखिक प्रस्तावमा नाम नराखी छानबिनको दायरा अघि बढाउनसक्ने आशय आफूहरूलाई स्वीकार्य नभएको बताउनुभयो।

“विपक्षी दलले उपप्रधान एवं गृहमन्त्री लामिछाने। छानबिन सम्बन्धित व्यक्तिकै बारेमा छानबिन नगरीकन कांग्रेसले कार्यदलमा सहमति गर्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “हामीले स्पष्ट रूपमा भनेका छौँ, यसकाबारे छानबिन समिति बनाउनुपर्छ भनेर उठाएका हौँ, जबसम्म त्यहाँ पुग्दैन हामी मान्दैनौँ भनेर भनेका छौँ। स्पष्ट रूपमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने स्वतः अपचलनमा सहभागी हुनुहुन्छ। आजको बैठकमा सरकार पक्षलाई यही कुरा राखेको छु।”

प्रतिनिधि सभाको बैठक शुक्रबार बिहान ११ बजे बस्ने तय भएको छ। सभाको बैठक अघि कार्यदलले सहमति जुटाउन बैठक बस्ने जनाएको छ। उक्त कार्यदलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, प्रमुख सचेतक बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शिशिर खनाल, कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की र नेता परियार हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर