उपराष्ट्रपति यादवसँग इजरायलका राजदूत गोल्डबर्गरको भेट — OSNepal

उपराष्ट्रपति यादवसँग इजरायलका राजदूत गोल्डबर्गरको भेट

LC (KTM) May 24, 2024 0

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि इजरायलका राजदूत हानान गोडर गोल्डबर्गरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा उहाँहरुबीच दुई पक्षीय सम्बन्ध, कृषि तथा श्रम क्षेत्रमा सहयोगलगायत आपसी हित र चासोका विषयमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

सो अवसरमा उपराष्ट्रपति यादवले नेपाल र इजरायलबीच १ जुन १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएयता मित्रता, सद्भाव, समझदारी र सहयोगको सम्बन्ध रही आएको उल्लेख गर्नुभयो । “इजरायलले विभिन्न विषयमा छात्रवृत्ति, रोजगारी, कृषि तथा सहकारी क्षेत्रमा नेपाललाई गरेको सहयोग प्रशंसनीय छन्”, उहाँले भन्नुभयो, “नेपाल–इजरायल सम्बन्ध आपसी सहयोग र सहकार्यको माध्यमबाट निरन्तर अघि बढ्ने विश्वास लिएको छु ।” उहाँले द्विपक्षीय व्यापार अभिवृद्धिका लागि थप प्रयत्नशील हुन आवश्यक रहेको समेत बताउनुभयो ।

उपराष्ट्रपति यादवले भन्नुभयो, “इजरायल सरकारले नेपाली युवाहरू (खासगरी महिला) लाई ‘केयरगिभर’ सेवा क्षेत्रमा रोजगारीका अवसर उपलब्ध गराएकामा धन्यवाद दिनुभएको थियो । ” उहाँले बहुपक्षीय सम्बन्धको चर्चा गर्दै नेपाल मध्यपूर्वमा शान्ति, अमनचयन र स्थिरताको पक्षमा सधैँ रहिआएको बताउनुभयो ।

इजरायलका राजदूत गोल्डबर्गरले नेपाल र इजरायलबीच विभिन्न क्षेत्रमा समानता रहेको उल्लेख गर्दै दुई देशको सम्बन्ध वर्षौँयता सुमधुर र प्रगाढ रहेको बताउनुभयो ।“जहाँसम्म विपिन जोशीको रिहाइको विषय छ, त्यसका लागि इजरायल सरकार हरसम्भव प्रयासरत छ”, उहाँले भन्नुभयो, “इजरायलबाट एउटा प्रतिनिधिमण्डल नेपाल आएर विपिनको घरमै गई परिवारलाई भेट्ने कार्यक्रम पनि छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर