बागलुङको दुर्गम गाउँमा सञ्चालित निःशुल्क मुटु परीक्षण शिविरबाट सात सयजना लाभान्वित — OSNepal

बागलुङको दुर्गम गाउँमा सञ्चालित निःशुल्क मुटु परीक्षण शिविरबाट सात सयजना लाभान्वित

LC (KTM) May 26, 2024 0

बागलुङको दुर्गम गाउँका बासिन्दालाई लक्ष्यित गरी सञ्चालन भएको निःशुल्क मुटु परीक्षण शिविरबाट सात सय जनाले सेवा लिएका छन् । गण्डकी प्रदेशसभा सदस्य जीतबहादुर शेरचनको संयोजन तथा सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट पश्चिम बागलुङका ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाका नागरिकले सेवा लिएका हुन् ।

शनिबार साँझ सम्पन्न भएको शिविरबाट सबैभन्दा बढी दुर्गम गाउँका नागरिक लाभान्वित भएका छन् । शिविरमा उपचार र अन्य सेवा लिने अधिकांश ज्येष्ठ नागरिक थिए । लामो समयदेखि मुटुको उपचार गराउँदै आएका बिरामीको विशेषज्ञ डाक्टरले परीक्षण गर्नुका साथै औषधि प्रदान गरेका थिए ।

शिविरमा परीक्षण गराएकामध्ये १० जना मुटुका नयाँ बिरामीलाई सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क उपचारका लागि ‘रेफर’ गरिएको थियो । सातजना विशेषज्ञ डाक्टरसहित २८ स्वास्थ्यकर्मीको टोलीले शिविर सञ्चालन गरेको हो । सामान्य समस्या रहेका बिरामीलाई औषधि उपलब्ध गराइएको थियो भने जटिल समस्या भएकालाई उपचारका लागि सुविधासम्पन्न अस्पतालमा जान सुझाएको हृदय रोग केन्द्रका निर्देशक डा रवि मल्लले बताउनुभयो ।

मुटुसम्बन्धी रोगका बिरामी बढ्न थालेपछि गाउँमा शिविर सञ्चालन गरेको शिविर संयोजक शेरचनले बताउनुभयो । भविष्यमा पनि यस्ता शिविर सञ्चालनका निम्ति आफू क्रियाशील रहने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर