चितवनमा ठूला होटल खुलेसँगै विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि — OSNepal

चितवनमा ठूला होटल खुलेसँगै विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि

LC (KTM) May 26, 2024 0

चितवन, १३ जेठ । ठूला होटल खुलेसँगै जिल्लाका पर्यटकीयस्थलमा विदेशी पर्यटकको सङ्ख्या बढेको छ । चितवन राष्ट्रिय निकुञ्जभित्रका होटल बन्द भएपछि विदेशी पर्यटक आउने सङ्ख्या घटेको थियो ।भर्खरै सञ्चालनमा आएका ठूला होटलले निकुञ्जभित्रकै अनुभूति हुने गरी पर्यटकलाई सेवा दिन थालेका छन् । निकुञ्जभित्र प्रकृतिसँग रम्न पर्यटकले त्यही अनुसारको ठाउँ रोज्ने गर्दथे । निकुञ्जभित्रका सात वटा होटल बन्द भएपछि त्यस्ता पर्यटक अफ्रिका, भारत, बङ्गलादेशलगायतका देश जान थालेका थिए ।

निकुञ्ज स्थापना हुनुअघि खुलेको टाईगर टप्स होटलसमेत बन्द छ । पछिल्लो समय सौराहा नजिकै खैरहनीको हर्नरीमा होटल सिद्धार्थ भिलासा वनबास सञ्चालनमा आएको छ । होटल प्रवेश गर्दा निकुञ्जभित्रकै झल्को दिने गरी निर्माण गरिएको छ ।

होटलका महाप्रबन्धक प्रकाश न्यौपानेले निकुञ्जभित्रको अनुभूति दिलाउने भएकाले खर्चिला विदेशी पर्यटक आएको बताए । उनको भनाइमा दुई रातका लागि एक जना पर्यटकले सजिलै दुई सय ५० अमेरिकी डलर तिर्ने गरेका छन् । होटलमा आउने पर्यटकमध्ये आधाभन्दा बढी विदेशी छन् । अमेरिका, जर्मन, क्यानडा, अष्ट्रेलिया, चीन, भारतलगायतका देशबाट पर्यटक आउने गरेको उनले जानकारी दिए ।

वरिपरी जङ्गलले घेरिएको रिसोर्टभित्र रुख बिरुवाले निकुञ्जको झल्को दिने गर्दछ । तीन बिघा १० कठ्ठा क्षेत्रफलमा फैलिएको रिसोर्टमा ४० भन्दा बढी प्रजातिका रुखबिरुवा छन् । होटल वरिपरि मध्यवर्ती सामुदायिक वन क्षेत्र भएकाले होटलको रेष्टुराँबाट गैँडा, मृग लगायतका जङ्गली जनावर चर्दै गरेको देख्न पाइन्छ । ४५ करोडभन्दा बढी लगानीमा खुलेको यो होटल गएको दसैँदेखि सञ्चालनमा आएको हो । यहाँ एक जोडी नेपालीले एक रात बस्न १० हजार तिर्नु पर्दछ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले सुविधासम्पन्न होटल नहुँदा अन्य देश जान थालेका पर्यटक पुनः यहाँ आउने क्रम बढेको बताए । भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ डा विश्व सुवेदीले ठूला होटल खुलेसँगै खर्चिला पर्यटक आउन थालेको बताए । चौधरी ग्रुपको मेघौली सेराइ, बाराइ, सोल्टीलगायतका सुविधा सम्पन्न होटल खुलेपछि खर्चिला पर्यटक आउन थालेको उनको भनाइ छ ।भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रुपमा मनाइरहेको छ । होटल व्यवसायीले स्वदेश तथा विदेशमा भरतपुर भ्रमण वर्षको व्यापक प्रचार गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर