बजेट : धर्म, संस्कृतिका अन्तर्राष्ट्रिय सम्मेलन गर्न सरकारले प्रोत्साहन गर्ने — OSNepal

बजेट : धर्म, संस्कृतिका अन्तर्राष्ट्रिय सम्मेलन गर्न सरकारले प्रोत्साहन गर्ने

LC (KTM) May 28, 2024 0

सनातन धर्म र संस्कृतिसम्बन्धी अन्तर्राष्ट्रियस्तरका सभा र सम्मेलन आयोजना गर्न सरकारले प्रोत्साहन गर्ने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने उल्लेख छ । सिम्रौनगढलाई विशेष संरक्षण गर्ने कार्यक्रम सरकारले अघि सारेको छ ।

समुदायसँगको सहकार्यमा पुराना बस्ती भएका कीर्तिपुर, बन्दीपुर, बुङ्मती, थिमी, गोरखा, जनकपुर र मटिहानीलगायतका स्थानको इतिहास, संस्कृति, भाषा र सभ्यतालाई संरक्षण र सम्वद्र्धन गर्न विविध कार्यक्रम सञ्चालन गरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

भाषा, साहित्य, दर्शन, संस्कृति, कला, सङ्गीत, नाट्यलगायतका अमूर्त सांस्कृतिक क्षेत्रको विकास र प्रवर्द्धनलाई पनि सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गरेको अर्थमन्त्री पुनले सुनाउनुभयो । प्रतिलिपि अधिकारको संरक्षण र नियमन गरिने भएको छ ।

तनहुँको चुँदी रम्घामा सबै नेपाली भाषाभाषीका मूर्धन्य स्रष्टाको प्रतिमा र सप्तधामसहितको भानु साहित्य उद्यान स्थापना हुने भएको छ । गोरखामा राजतन्त्रदेखि गणतन्त्रसम्मको अभिलेख रहने गरी ऐतिहासिक सङ्ग्रहालय निर्माण गरिनेछ । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि रु ११ अर्ब ९१ करोड विनियोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर