दाङमा सबैभन्दा बढी विप्रेषण भित्रिनेमा तुलसीपुर — OSNepal

दाङमा सबैभन्दा बढी विप्रेषण भित्रिनेमा तुलसीपुर

LC (KTM) May 29, 2024 0

दाङबाट वैदेशिक रोजगारमा गएकामध्ये विप्रेषण भित्रिनेमा तुलसीपुर सबैभन्दा अगाडि छ । दाङका चारवटा पालिकामध्ये तुलसीपुर उपमहानगरपालिकामा अहिलेसम्म रु दुई अर्ब ८४ करोड २० लाख ७१ हजार विप्रेषण भित्रिएको छ । यस्तै घोराहीमा रु एक अर्ब ६८ करोड २४ लाख ५७ हजार, लमही नगरपालिकामा रु ५१ करोड ७२ लाख ५३ हजार र बबई गाउँपालिकामा रु ३४ करोड ६१ लाख ५७ हजार विप्रेषण भित्रिएको छ ।

आप्रवासी स्रोत केन्द्रको सामी परियोजनाले तुलसीपुर, घोराही, लमही र बबईमा विसं २०७६ पुसदेखि २०८०/०८१ को हालसम्म गरेको अध्ययनअनुसार सबैभन्दा बढी तुलसीपुरमा विप्रेषण भित्रिएको परियोजनाका कार्यक्रम संयोजक वसन्ता पुन मगरले बताइन् । दाङका १० वटा पालिकामध्ये सामीले चारवटा पालिकामा अध्ययन गरेको हो । उनका अनुसार अध्ययनमा जानेबाट भने रकम बाहिरिरहेको छ । तुलसीपुरबाटै अध्ययन गर्न जानेबाट रु दुई अर्ब ७१ करोड बाहिरएको छ भने लमही नगरपालिकाबाट रु १३ करोड २ लाख बाहिरिएको छ ।

हालसम्म तुलसीपुरबाट आठ हजार आठ सय ५० जना वैदेशिक रोजगारमा गएका छन् भने तीन हजार पाँच सय ५९ जना फर्किएका छन् । विदेश गएकामा एक हजार तीन सय ९० जना विद्यार्थी छन् । अहिलेसम्म तुलसीपुरका ३० जनाको विदेशमा मृत्यु भएको छ । त्यस्तै घोराहीमा पाँच हजार सात सय २८ जना विदेश गएकोमध्ये दुई हजार दुई सय ८५ जना फर्किएका छन् ।

लमहीमा एक हजार सात सय ८६ जना विदेश गएकोमा सात सय नौ जना फर्किएका छन् भने एकसय १० जना अध्ययनका लागि विदेश गएका छन् । विदेशमा लमहीका छ जनाको मृत्यु भएको छ । त्यस्तै बबई गाउँपालिकामा एक हजार पाँच सय ९६ जना विदेश गएकोमा नौ सय ४१ जना फर्किएका छन् ।

परियोजनाले विसं २०७६ पुसदेखि २०८०\०८१ को हालसम्म ६० हजार २८ जनालाई परामर्श दिएको जनाएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा नौ सय ५१ महिला र एक हजार नौ सय ६० पुरुष गरी दुई हजार नौ सय ११ जनाले सेवा लिएका थिए । परामर्श लिएकामध्येबाट ११ प्रतिशतलाई फोन सम्पर्क गर्दा नौ प्रतिशत वैदेशिक रोजगारीमा गएका, तिमध्ये ५० प्रतिशत सीप तालिम लिएर, ९४ प्रतिशत कागजपत्र घरमै छाडेर गएका देखिएको संयोजक मगरले बताउनुभयो । साथै पैसा तिरेको भर्पाइ माग्ने ८९ प्रतिशत, वैदेशिक रोजगारीमा नजाने निर्णय गरेका ४६ प्रतिशत र नेपालमै काम सुरु गरेका २४ प्रतिशत रहेका छन् ।

सहायता कक्षमा वैदेशिक रोजगारीसम्बन्धी आएका उजुरीमा आधाभन्दा धेरैको समाधान भएको जनाएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र शोषणमुक्त बनाउने, वैदेशिक रोजगार बोर्ड, बिमा कम्पनीबाट पाउने आर्थिक सहायताको बारेमा जनमानसमा जनचेतना फैलाउने कार्यमा ध्यान दिनुपर्ने घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर