३५ वर्षदेखि मकै बेचेर जीविकोपार्जन गर्दै दाङ घोराही ६० वर्षीया पार्वती — OSNepal

३५ वर्षदेखि मकै बेचेर जीविकोपार्जन गर्दै दाङ घोराही ६० वर्षीया पार्वती

LC (KTM) May 31, 2024 0

घोराही (दाङ), जेठ १८-दाङ घोराही उपमहानगरपालिका–१८ रझेनाका ६० वर्षीया पार्वती घर्तीले मकै बेचेर जीविकोपार्जन गर्दै आउनुभएको छ । जेठको चर्को घाममा पनि उहाँ मकै पोलेर बेच्न व्यस्त हुनुहुन्छ । उहाँले विगत ३५ वर्षदेखि यसरी नै आफ्नो दैनिकी सञ्चालन गर्दै आउनुभएको हो ।

हरेक वर्ष मकैको सिजन सुरु भएसँगै उहाँलाई पोलेर बेच्न भ्याइनभ्याइ हुन्छ । घर्तीले मौसमी मकैभन्दा बेमौसमी बढी बिक्ने भएकाले गर्मीमा पनि असिनपसिन भएर मकै पोल्दै आएको बताउनुभयो । “प्रतिगोटा रु २५ ले बेच्दा रु १० फाइदा हुन्छ । खर्च कटाएर दैनिक रु चार÷पाँच सयसम्म आम्दानी भइरहेको छ”, उहाँले भन्नुभयो । यही कामबाट भएको आम्दानीले आफूसहित पाँच जनाको जीविकोपार्जन भइरहेको उहाँले जानकारी दिनुभयो ।

घर्तीले भन्नुभयो, “उमेरअनुसारको अन्य काम, पेसा व्यवसाय गर्न सकिँदैन त्यसकारण यही पेसालाई निरन्तरता दिँदै आएको छु । मैले पोलेको मकै सबैले असाध्यै मन पराउँने हुँदा खुसी लाग्छ ।” सानै भए पनि स्वरोजगार हुँदा आफूलाई आवश्यक परेमा रु दुई÷चार हजारका लागि अरुसँग हात थाप्न नपर्ने उहाँको अनुभव छ ।

गर्मीको समयमा केही समस्या भए पनि विगत लामो समयदेखि गर्दै आएको कामप्रति घर्ती सन्तुष्ट हुनुहुन्छ । उहाँ बिहानको समयमा देउखुरीका विभिन्न ठाउँमा हरियो मकै लिन जानुहुन्छ भने दिउँसो २ बजेपछि घोराही–१५ को कृषिउपज बजार केन्द्रको अगाडितर्फ सडक छेउमा मकै पोलेर बेच्न व्यस्त हुनुहुन्छ । दैनिक रु १५ सयदेखि दुई हजारसम्मको कारोबार हुने गरेको उहाँले बताउनुभयो ।

घर्तीजस्तै घोराही–१८ का मनकुमारी नेपालीको पनि मकै बेचेरै दैनिकी बित्ने गरेको छ । ५८ वर्षीया मनकुमारीले २१ वर्षदेखि मकै पालेर बेच्ने गरेको बताउनुभयो । लामो समय भइसकेकाले आफूलाई यो पेसा सहज लाग्ने उहाँको भनाइ छ ।

“उमेर हुँदा पनि अरु जागीर गर्नको लागि पढाइ भएन । अहिले अरु काम गरेर खान पनि नसकिने अवस्था भएकाले मकै पोलेर बेच्ने गरेको छु । आफूले सक्दासम्म यो कामलाई निरन्तरता दिनेछु”, उहाँले भन्नुभयो, “मकै लिन बिहान देउखुरी जान्छु, दिउँसोको समयमा पोल्ने र बेच्नेमा दिन बित्छ ।”

आजभोलि दाङमा अत्यधिक गर्मी बढेकाले केही समस्या भएको नेपालीले बताउनुभयो । आफूले पोलेको मकै सहजरुपमा बिक्री हुँदा खुसी लाग्ने उहाँको अनुभव छ । दैनिक ६०/६५ गोटा मकै पोलेर बेच्ने गरेको बताउँदै उहाँले रु १५ सयदेखि दुई हजारसम्मको कारोबार हुने जानकारी दिनुभयो ।

पार्वती घर्तीले मकै पोल्दै गरेको ठाउँमा भेटिनुभएका घोराही–१५ का डम्मरी रावतले बजारका अन्य खाजा खानुभन्दा स्वास्थ्यलाई पनि फाइदा हुने भन्दै मकै नै खान आग्रह गर्नुभयो । आफू पनि हरेक दिन खाजा खाने समयमा उहाँले पोल्दै गरेको ठाउँमा आएर मकै खाने गरेको उहाँले बताउनुभयो । यति धेरै गर्मीको समयमा पनि उहाँहरुले आफ्नो व्यवसायलाई निरन्तरता दिएको भन्दै आत्मविश्वासका लागि सबै महिलाले स्वरोजगार बन्नुपर्ने उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर