मुढेघारमा मौरीपालन गर्न बाध्य भोजपुरका किसान — OSNepal

मुढेघारमा मौरीपालन गर्न बाध्य भोजपुरका किसान

LC (KTM) June 02, 2024 0

भोजपुर, जेठ २० –प्रशस्तमात्रामा वनक्षेत्र भएकाले भोजपुरको माथिल्लो भेगलाई मौरीपालनका लागि निकै उपयुक्त मानिन्छ । यहाँका वन क्षेत्र आसपासमा रहेका बस्तीका स्थानीयले परम्परागत (मुढेघार) मौरीपालन गरिरहेका छन् । आधुनिक मौरीपालनका बारेमा जानकारी नहुँदा किसान परम्परागतरुपमा मौरीपालन गर्न बाध्य भएका हुन् ।

जिल्लाको टेम्केमैयुङ–५ मझौलेका स्थानीयवासी दिपक विष्टले विगत २४ वर्षदेखि परम्परागतरुपमा मौरीपालन गर्दै आउनुभएको छ । मुढेघारमा उहाँका २० घारमौरी छन् । आधुनिक प्रविधिका विषयमा जानकारी नहुँदा बाउबाजेबाट सिकेको सीपलाई अवलम्बन गरेर मौरीपालन गरिरहेको उहाँले बताउनुभयो । आवश्यक तालिम तथा आधुनिक सीपको अभाव हुँदामा परम्परागत मौरीपालनमा समस्या हुने गरेको उहाँको भनाइ छ ।

“विगत २४ वर्षदेखि मौरीपालन गरिरहेको छु । स्वदेशमा स्वरोजगार बन्ने लक्ष्यले यो व्यवसायमा लागेको हुँ । लामो समयदेखि यस व्यवसायमा जोडिए पनि राज्यकोतर्फबाट हालसम्म सहयोग पाएको छैन”, विष्टले भन्नुभयो, “आधुनिक प्रविधिबाट पालन गर्नसके अझ राम्रो हुन्थ्यो । राज्यको कुनै पनि निकायबाट यस्तो सीप लिने अवसर पाएको छैन ।” मौसमअनुसार एक वर्षमा दुईदेखि तीन पटकसम्म मह निकाल्न सकिने उहाँले जानकारी दिनुभयो ।

सिजनमा एकपटकमा ८० देखि ९० केजीसम्म मह निकाल्न सकिने व्यवसायी विष्टले बताउनुभयो । मह स्थानीय बजारमा प्रतिकेजी रु एक हजार पाँचमा बिक्री हुने गरेको उहाँको भनाइ छ । उत्पादित महको बजारीकरण नहुँदा सोचेअनुसारको आम्दानी लिन समस्या भएको उहाँले बताउनुभयो ।“लेकाली भेगको जडीबुटीको मह भएकाले औषधिजन्य गुण बढी हुन्छ”, उहाँले भन्नुभयो, “उत्पादित महलाई स्थानीय बजारमा बिक्रीवितरण गरिरहेको छु । बजारीकरण राम्रो हुने हो भने यसबाट राम्रो आम्दानी लिन सकिन्छ ।”
राज्यकोतर्फबाट आवश्यक सहयोग, तामिलसँगै प्राविधिक ज्ञान पाएमा थप सहज हुने उहाँको भनाइ छ । आधुनिक घारमा मौरीपालन गर्ने सोच भए पनि राज्यको निकायबाट कुनै पनि सहयोग पाउन नसकेको उहाँको दुखेसो छ । राज्यबाट आउने अनुदान तथा अन्य सहयोग बास्तविक किसानसम्म पुग्न नसकेको उहाँको भनाइ छ ।टेम्केमैयुङ–४ लुङ्गिनका कृषक रामकुमार राईले २५ वर्षदेखि परम्परागतरुपमा मौरीपालन गर्दै आउनुभएको छ । उहाँले २८ वटा मुढेघारमा व्यावसायिकरुपमा मौरीपालन गरिरहेको बताउनुभयो । एक सिजनमा सबै घारको मह झिक्दा एक सय केजीसम्म मह सङ्कलन हुने उहाँको भनाइ छ ।

महको बजारीकरणमा समस्या रहेको भन्दै उत्पादित महलाई बान्डिङ गरेर बाह्य बजारमा पठाउन सके मनग्ये आम्दानी लिन सकिने राईले बताउनुभयो । “विगत २५ वर्षदेखि मौरीपालन गर्दै आएको छु । सबै घारलाई काड्दा एकपटकमा एक सय केजीसम्म उत्पादन हुन्छ”, उहाँले भन्नुभयो, “बजारीकरणमा समस्या छ, यसलाई बान्डिङ गरेर बेच्न स्थानीय तह तथा सरोकार भएकाले पहल गर्नुपर्छ ।” पराम्परागत घारमा मौरीपालन गर्दा भाग्ने जोखिम बढी हुने उहाँको भनाइ छ ।

आधुनिक मौरीपालनको विषयमा ज्ञान नहुँदा बाध्य भएर पराम्परागतरुपमा पालन गरिरहेको राईले बताउनुभयो । “मुढेघारमा मौरीपालन गर्दा जोखिम बढी हुन्छ”, उहाँले भन्नुभयो, “घारमा लगाएको मौरी भाग्ने सम्भावना बढी हुन्छ । भागीहाल्यो भने परिश्रम त्यसै खेर जान्छ । आधुनिक रुपमा मौरीपालन गर्ने रहर भए पनि त्यसको विषयमा जानकारी छैन । राज्यले हामी जस्ता किसानलाई प्रोत्साहनको कार्यक्रम सञ्चालन गरिदिए व्यवसायमा थप टेवा पुग्ने थियो ।”मौरीपालनका लागि घमाइलो र नजिक वन जङ्गल भएको ठाउँ उपयोगी हुने किसान राईको भनाइ छ । आफूले पालेको मौरीले वन जङ्गलबाट मह सङ्लन गर्ने भएकाले चरणमा लगेर सङ्कलन गरेको महभन्दा बढी लाभदायक हुने उहाँले बताउनुभयो ।

“हाम्रो ठाउँको मौरीको चरण क्षेत्र नै जङ्गल हो । जङ्गलबाट विभिन्न बोट बिरुवासँगै जडीबुटीबाट मह सङ्कलन गर्ने भएकाले चरण लगेर सङ्कलन गरेको महभन्दा धेरै लाभदायक हुन्छ”, राईले भन्नुभयो, “कुनाकाप्चाको ठाउँ भएकाले हामीले यसको विषयमा सबैलाई बुझाउन सकेका छैनौँ । राज्यले यस्ता अर्गानिक उत्पादनको बजारीकरणमा ध्यान दिए सहज हुने थियो ।” रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर