चोयामा सीप भरेर आत्मनिर्भर बनेका घोराहीका ढाटु चौधरी — OSNepal

चोयामा सीप भरेर आत्मनिर्भर बनेका घोराहीका ढाटु चौधरी

LC (KTM) June 03, 2024 0

देउखुरी (दाङ), जेठ २१ गते । घोराही उपमहानगरपालिका-७ सौडियारका ढाटु चौधरी बाँसका चोयाबाट विभिन्न सामाग्री बुनेर स्वरोजगार बन्नुभएको छ । बुबा-बाजेबाट सिकेको सीपबाट बाँसका सामग्री बनाएर जीवीको चलाउन सहज भएको उहाँले बताउनुभयो ।

उहाँले बाँसका चोयाबाट स्याङो, गैजा र छातालगायतका सामग्री बुन्ने गर्नुहुन्छ । गैजा घाँस तथा तरकारी बोक्न प्रयोग हुने गरेको छ । “एउटा गैजालाई तीन सयमा र स्याङोलाई पाँच सयमा बिक्री गर्ने गरेको छु । गाउँघरमा नै बिक्री हुने गरेकाले बजार खोज्न धेरै टाढा जानुपरेको छैन”, उहाँले भन्नुभयो, “मेहनत गरेमा आम्दानीको साथै समय सदुपयोग र स्वरोजगार बन्न सहज भएको छ ।”

दिनमा चार वटासम्म गैजा बुन्ने गर्नुभएका चौधरीले तिनको बिक्रीबाट १२ सय रुपियाँ आम्दानी गर्नुहुन्छ । “अहिलेसम्म बुनेका सामाग्री बिक्री हुँदैनन् कि भनेर चिन्ता गर्नुपरेको छैन । धेरै स्थानीयले आफ्नो बाँस दिएर बुन्न लगाउनुहुन्छ , त्यसमा पनि पैसा आउँछ”, चौधरी भन्नुहुन्छ, “स्थानीय सरकारले घरेलु सामग्रीलाई प्रोत्साहन गर्ने नीति लिएमा व्यावसायीकरुपमा काम अगाडि बढाउने सोच छ ।” घरमै बसेर फुर्सदको समय सदुपयोग हुनुका साथै आम्दानी पनि गर्न सकिने यो पेसामा पछिल्लो पुस्ता भने आकर्षित छैन ।

उहाँलाई पछिल्लो पुस्ताले यो सीप सिक्न नचाहेको देख्दा आफूसँगै लोप पो हुन्छ कि भन्ने चिन्ता लागेको छ । “मैले मेरा बुबाबाजेबाट सीप सिके आफ्नो गर्जो टार्न सहज भएकै छ । अहिले त लगानी गरेमा व्यावसायिकरुपमा काम अगाडि बढाउन सकिन्छ तर नयाँ पुस्ताले सीप सिक्न चासो राखेका छैनन् । अब स्थानीय सरकारले यस्ता परम्परागत सीपको प्रवर्द्धन गर्न जरुरी छ,”चौधरीको अनुरोध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर