जालपामा बहुउद्देश्यीय ‘कभर्डहल’ सञ्चालन — OSNepal

जालपामा बहुउद्देश्यीय ‘कभर्डहल’ सञ्चालन

LC (KTM) June 03, 2024 0

खोटाङ, जेठ २१ गते । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपामा निर्माण गरिएको ‘जालपा कभर्डहल’ सञ्चालनमा ल्याइएको छ । नगरपालिकाको ७० लाख र स्थानीय उपभोक्ताको श्रमदानबाट निर्माण गरिएको बहुउद्देश्यीय कभर्डहल आइतबारदेखि औपचारिकरुपमा सञ्चालनमा ल्याइएको हो ।

कभर्डहलभित्र करिब तीन सयजना दर्शक अट्ने रङ्गशालासहित सुविधा सम्पन्न शौचालय निर्माण गरिएको जालपाका वडाध्यक्ष दानबहादुर राईले बताउनुभयो । वि.सं.२०७६ मा निर्माण सुरु गरिएको उक्त कभर्डहल आइतबार कोशी प्रदेश प्रमुख परशुराम खापुङले औपचारिकरुपमा उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय अनुशासन आयोगका अध्यक्ष एवम् पूर्वसांसद टङ्क राई, नगरप्रमुख तीर्थराज भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका नेता रामप्रसाद दङ्गालगायतको उपस्थिति थियो ।

करिब पाँच वर्ष लगाएर सम्पन्न गरिएको कभर्डहलमा खेलकुदसम्बन्धी विभिन्न गतिविधि, सभा, सम्मेलनलगायत कार्यक्रम गर्न सकिने वडाध्यक्ष राईले जानकारी दिनुभयो । कभर्डहल उद्घाटनको अवसरमा भलिबल र ब्याडमिन्टन प्रतियोगिता, पूर्वखेलाडीलाई सम्मानका साथै साङ्गीतिक कार्यक्रम आयोजना गरिएको वडाध्यक्ष राईले बताउनुभयो । उहाँका अनुसार यही जेठ १८ गतेदेखि सुरु भएको कार्यक्रमअन्तर्गत खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका-१ कुइभिरले जितेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र वडा कार्यालय जालपाको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा रावाबेँसी गाउँपालिका-१ कुभिण्डेलाई हराउँदै कुइभिरले उपाधि जितेको हो । उपाधि विजेताले ५० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका वडाध्यक्ष राईले जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो भएको रावाबेँसी-१ कुमिण्डेले ३० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । विभिन्न जिल्लाका १९ वडाले सहभागिता जनाएको प्रतियोगितामा ऐँसेलुखर्क गाउँपालिका-५ तेस्रो हुँदै २० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

स्थानीयस्तरमा खेलाडी उत्पादन गर्ने उद्देश्यले खुला वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुषतर्फको खुला डबल ब्याडमिन्टनमा दिक्तेलका पूजन आचार्य र सञ्जय कार्की पहिलो, दिक्तेलका समीर बजिमय र विकास खत्री दोस्रो तथा जालपाका युनिशन राई र रमेश श्रेष्ठ तेस्रो भएका छन् । महिलातर्फको डबल प्रतियोगितामा दिक्तेलका रेणुका राई र ममता राई पहिलो, जालपाका अनिता श्रेष्ठ र वर्षा गुरुङ दोस्रो तथा दिक्तेलका कल्पना जोशी (राई) र स्मिता राई तेस्रो भएका छन् । खुला महिला÷पुरुष दुवैतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २० हजार, १५, १० हजारका साथमा ट्रफी र प्रमाणपत्र प्रदान प्राप्त गरेका छन् ।

पुरुषतर्फको डबल भेट्रानमा दिक्तेलका राजु श्रेष्ठ र समीर बजिमय पहिलो, जालपाका गोपाल गुरुङ र ज्ञानबहादुर श्रेष्ठ दोस्रो र दिक्तेलका मनविक्रम राई र हरि खत्री तेस्रो भएका छन् । भेट्रानतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १२ हजार, दश हजार, आठ हजार पुरस्कार प्राप्त गरेका छन् । पन्ध्र वर्षमुनिका पुरुषतर्फको ब्याडमिन्टनमा केपिलासगढी गाउँपालिका-४ का ग्याल्जेन तामाङ र आशिष् राई पहिलो, दिक्तेलका संयोग धमला र विवेक आचार्य दोस्रो र दिक्तेलकै योजन दाहाल र अनिशान्त दङ्गाल तेस्रो भएका छन् ।

पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः आठ हजार, पाँच हजार र तीन हजार पुरस्कार प्राप्त गरेका आयोजकले जनाएको छ । कार्यक्रममा भलिबलका पाँच तथा तेक्वान्दो र सितोरियो करातेका दुई-दुई जना पूर्वखेलाडीलाई सम्मान गरिएको छ । भलिबलका पूर्वक्षेत्रीय खेलाडी बलराम राई, सम्बरबहादुर राई, वीरबहादुर तामाङ, ताराकला राई र जसुदा राई, तेक्वान्दोका पूर्वखेलाडी विकास र सङ्गम गुरुङ तथा सितोरियो करातेका चन्द्रबहादुर राई ‘मदन’, गौतम राई र कैलाश राईलाई सम्मान गरिएको वडाध्यक्ष राईले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर