भारत र बङ्गलादेशका पत्रकार रासस तस्बिर प्रदर्शनीमा — OSNepal

भारत र बङ्गलादेशका पत्रकार रासस तस्बिर प्रदर्शनीमा

LC (KTM) June 03, 2024 0

काठमाडौँ, जेठ २१ गते । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रका पत्रकारको संस्था सार्क जर्नालिष्ट फोरमका पदाधिकारीसहित नेपाल भ्रमणमा रहेका भारत र बङ्गलादेशका पत्रकारले राष्ट्रिय समाचार समिति (रासस) मा जारी गणतन्त्र दिवसका अवसरमा आयोजित ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज अवलोकन गरेका छन् ।

प्रथम अन्तर्राष्ट्रिय मातृभाषा सम्मेलनमा भागलिने सिलसिलमा काठमाडौँमा रहनुभएका उहाँहरुले आज भद्रकालीस्थित रासस केन्द्रीय कार्यालयका साथै तस्बिर प्रदर्शनी अवलोकन गर्नुभएको हो । उक्त फोरमका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा (नेपाल), महासचिव मोहम्मद अब्दुर रहमान (बङ्गलादेश) र शशी भूषण (विहार-संयोजक, भारत) नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठलगायत पत्रकारले प्रदर्शनी अवलोकन गर्नुभएको हो ।

उक्त टोलीलाई राससका सञ्चालक समिति सदस्य एवं आलेख सेवा प्रमुख कृष्ण अधिकारी र प्रमुख समाचारदाता एकराज पाठकले राससको समाचार उत्पादन, सम्पादन र वितरण प्रक्रियाबारे अवगत गराउनुभएको थियो । प्रदर्शनीमा राखिएका तस्बिरबारे वरिष्ठ समाचारदाता प्रकाश सिलवाल र फोटो पत्रकार रत्न श्रेष्ठले जानकारी दिनुभएको थियो । यही जेठ १० गते सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माबाट प्रदर्शनीको उदघाटन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर