‘वातावरणको संरक्षण र प्रवर्द्धनमा सबै लागौँ’ : सभामुख घिमिरे — OSNepal

‘वातावरणको संरक्षण र प्रवर्द्धनमा सबै लागौँ’ : सभामुख घिमिरे

LC (KTM) June 05, 2024 0

सभामुख देवराज घिमिरेले वातावरण संरक्षण र प्रवर्द्धनका लागि सबै तहका सरकार, निजी तथा गैरसरकारी क्षेत्र, सङ्घ संस्था र व्यक्तिले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नाराका साथ मनाउन गइरहेको विश्व वातावरण दिवस, २०२४ का अवसरमा सभामुख घिमिरेले आज शुभकामना सन्देश जारी गर्दै संसारका जुन कुनामा पर्यावरण र वातावरणलाई असर परे पनि त्यसले कालान्तरमा पृथ्वीको सबै भूभागमा असर पार्ने बताउनुभएको छ । त्यसैले वातावरण संरक्षणका लागि सबैले प्रयास गर्नुपर्नेमा जोड दिँदै शुभकामना व्यक्त गर्नुभएको छ ।

“हाम्रो देशको सन्दर्भलाई हेर्दा सहरी क्षेत्रमा फोहरमैलाको उचित व्यवस्थापन र ग्रामीण क्षेत्रमा वृक्षरोपणको माध्यमबाट वातावरण संरक्षणका पहल भइरहेको अवस्था छ”, शुभकामना सन्देशमा भनिएको छ, “त्यसैगरी न्यून कार्बन उत्सर्जनका लागि विद्युतीय सवारी साधनको प्रयोग बढ्दो छ, यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने आजको आवश्यकता देखिन्छ ।”

विकसित मुलुकको तुलनामा वातावरणीय प्रदूषणमा कम सहभागी भए पनि जलवायु परिवर्तनका कारण हुने प्राकृतिक विपत्तिको सङ्कट सामना गर्नेमध्येको मुलुकमा नेपाल पर्नु आफैँमा दुःखद् विषय भएको र यस्ता दिवसले थप ध्यानाकर्षण गराउने हुँदा यो दिवसको विशेष महत्व रहेको सन्देशमा उल्लेख गरिएको छ ।

वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यले संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाइँदै आएको छ । नेपालले पनि प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर