सीप मेलाबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न सरकार तयार छ : मन्त्री भण्डारी — OSNepal

सीप मेलाबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न सरकार तयार छ : मन्त्री भण्डारी

LC (KTM) June 05, 2024 0

काठमाडौँ, २३ जेठ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सीप मेलाबाट प्राप्त उपलब्धिलाई संस्थागत र नियमित गर्न सरकारले आवश्यक एकीकृत ढाँचा निर्माण गर्ने बताएक छन् ।काठमाडौँ महानगरपालिकाले गत वैशाख १९ गतेदेखि सुरु गरेको सीप मेलाको ‘नीति संवाद’ कार्यक्रममा भण्डारीले मेलाबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न सरकार तयार रहेको बताए । एउटा मन्त्रालय वा निकायले काम थाल्ने, अर्कोले रोक्ने प्रवृत्ति रहेसम्म दिगो विकासमा प्रगति हुन नसक्ने उनको भनाइ छ ।

मन्त्री भण्डारीले भने, “सीप मेलालाई नतिजामुखी र दिगो बनाउन नीति आवश्यक छ । यसले व्यावसायिक तालिम, तालिमको तह र योग्यता निर्धारण, रोजगार र स्वरोजगारका क्षेत्रमा बाटो देखाउँछ ।”मानव स्रोतलाई उत्पादनमूलक बनाउन उसमा भएका व्यावसायिक सीपलाई वृत्ति विकास तथा योग्यता मापनको तहमा आबद्ध गराउने नीति तर्जुमा गर्नुपर्ने उद्देश्यले ‘सीप मेलाको नीति संवाद’ सम्पन्न भएको छ ।

‘सीपमूलक, व्यावसायिक र रोजगारमूलक तालिममा, युवाहरुको सहभागिता, आत्मनिर्भर, दक्ष र उद्यमी जनशक्ति उत्पादनमा, महानगरको प्राथमिकता’ भन्ने नारासहित आयोजना गरिएको ‘नीति संवाद’ कार्यक्रममा क्षेत्रगत अधिकारी र प्रशिक्षार्थीहरुबाट प्राप्त छलफलका आधारमा उक्त निष्कर्ष निकालिएको हो ।

कार्यक्रममा कामपाका उपप्रमुख सुनिता डङ्गोलले तालिमका प्रमाणपत्रले कोठा भर्ने तर सीपलाई उद्यममा प्रयोग नगर्ने परिपाटी अन्त्य गर्नुपर्ने बताए । सहभागीको आचरण र मापदण्ड अनुसार तालिम सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

कामपाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने, “घरको ढोका खोल्ने बित्तिकै देखिने सरकारबाट भएका कामले नागरिकलाई मेरो सरकार छ, भन्ने आश्वासन दिन्छ ।”

रोजगारी क्षेत्रमा जाने व्यक्तिले तल्लो तहको काम नगरी माथिल्लो तह खोज्ने प्रवृत्तिले अस्थिरता आएको, कामप्रति प्रतिबद्ध नहुँदा विकल्प खोजिने, रोजगारीप्रति प्रतिबद्धता नभएको, धेरै छोटो अवधिका लागि मात्र रोजगारीमा रहन चाहनेलगायत समस्याले रोजगारदाताका आवश्यकता पूरा हुन नसक्ने विषय संवादमा छलफल गरिएको थियो ।

सहभागीले काममा प्रवेश पाउनुअघि अनुभव खोज्ने भएपछि अवसर नै नभई अनुभव दिन नसकिने अवस्थाले रोजगारमा जान चुनौती भएको, पुस्तामा हस्तान्तरण भएर आएका सीपहरुको प्रमाणीकरण हुन नसकेकाले स्वरोजगारका अवसरबाट वञ्चित हुनु परेको गुनासो राखेका थिए ।

कामपाले गत वैशाख १९ गतेदेखि सुरु गरेको ‘सीप मेला २०८१’ यही जेठ २० गते सकिएको छ । कामपाको गौरव योजनाअन्तर्गत ‘रोजगारी र आयमा वृद्धि, काठमाडौँको समृृद्धि’ अन्तर्गत सीप मेला सुरु गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर