कोशी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल जारी — OSNepal

कोशी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल जारी

LC (KTM) June 05, 2024 0

विराटनगर – कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफल पनि जारी रह्यो । यही जेठ २१ गते प्रदेश प्रमुख पर्शुराम खापुङले आगामी आर्थिक वर्ष २०८१/८२ लागि प्रस्तुत गरेको नीति कार्यक्रममा हिजो १९ जना र आज २५ जना प्रदेशसभा सदस्यले छलफलमा भाग लिए ।

नीति तथा कार्यक्रममाथिको छलफलमा सदस्यहरुले प्रदेशमा सुशासन कायम गर्ने र भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउँदा जनताले गणतन्त्रको अनुभूति गर्नसक्ने बताएका थिए ।
प्रदेशको धार्मिक तथा पर्यटकीयस्थलको पहिचान गरी पूर्वाधारसहितको संरचना तयार भएमा पर्यटन प्रवर्द्धन र थप रोजगारी सिर्जना हुने उनीहरुको भनाइ थियो ।

ऋण र अनुदानबाट चल्ने हाम्रो देशको अर्थतन्त्रलाई बलियो बनाउन घरेलु मदिरा र गाँजा खेती गर्न पनि सरकारले छुट दिनुपर्ने भन्दै उनीहरूले सरकारले शिक्षा, स्वास्थ्य र खानेपानीमा लगानी बढाउनुपर्ने धारणा राखेका थिए । “रोजगार र सीपमूलक शिक्षाले मात्र गरिबी निवारणमा मद्दत गर्नेतर्फ नीति तथा कार्यक्रममा समेटिएको छैन र यस्ता विषयलाई समावेश गर्नुपर्छ । सुनसरीको दुहबी र इनरुवा जोड्ने सडक चारलेन बनाउन र प्रदेश मातहतमा रहेका अस्पताललाई स्तरोन्नति गरी समयसापेक्ष सुविधा सम्पन्न बनाउनुपर्छ”, उनीहरूमध्ये धेरैको सुझाव थियो ।

छलफलमा मीरादेवी खनाल, राधाकृष्ण खनाल, मैया श्रेष्ठ, रामप्रसाद महतो र जयप्रकाश चौधरीलगायतले आ–आफ्नो धारणा राखेका थिए । शून्य समयमा कोशी प्रदेशसभाका सदस्य किशोरचन्द्र दुलालले तेह्रथुममा दुग्ध उत्पादक कृषकले कात्तिक महिनादेखि अहिलेसम्म दुग्धको भुक्तानी नपाएकातर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराए । उनले ढाकाको राजधानी मानिएको तेह्रथुममा तान बुन्नेलाई व्यवसायीलाई सरकारले सहयोग गर्नुपर्ने माग पनि गरे ।

सदस्य होमबहादुर थापाले जेठ २१ गते रतुवामाई नदीमा बगाएको गाडीमा दुईजनाको मृत्यु भएकाले प्रदेश सरकारले राहत दिनुपर्ने माग गरे । अर्का सदस्य खगेश्वरी पौडेलले सरकारले ल्याएको नीति तथा कार्यक्रममा आधारित भएर बन्ने बजेटलाई सफल बनाउन कार्यान्वयन पक्षमा सरकार गम्भीर हुनुपर्ने ध्यानाकर्षण गराए ।सदस्य ललिताकुमारी चौधरीले तराईवासीले मान्दै आएको ग्रामथानलाई व्यवस्थित गर्न सरकारले बजेट विनियोजन गर्नुपर्ने माग राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर