नेपाल–फिनल्यान्ड परामर्श संयन्त्रको बैठक सम्पन्न — OSNepal

नेपाल–फिनल्यान्ड परामर्श संयन्त्रको बैठक सम्पन्न

LC (KTM) June 06, 2024 0

काठमाडौँ । नेपाल–फिनल्यान्ड द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठक सम्पन्न भएको छ । बैठकलाई नेपालको तर्फबाट परराष्ट्र मन्त्रालय सहसचिव एवं युरोप अमेरिका डिभिजनका डिभिजन प्रमुख गणेशप्रसाद ढकाल र फिनल्यान्डको तर्फबाट परराष्ट्र मन्त्रालयका अन्तर्राष्ट्रिय विकासका उपसचिव पासी हेलम्यानले नेतृत्व गरेका थिए ।

बैठकमा दुई पक्षबिच नेपाल–फिनल्यान्ड सम्बन्ध र द्विपक्षीय सहयोगका बारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार समग्र द्विपक्षीय सम्बन्धको समीक्षा गर्दै दुवै पक्षले नेपाल–फिनल्यान्ड सम्बन्धको वर्तमान अवस्थाप्रति सन्तोष व्यक्त गरेका छन् ।

दुई पक्षीय उच्चस्तरीय भ्रमणको आदानप्रदान र साझेदारी अभिवृद्धि लगायतका सम्बन्धलाई निरन्तरता दिनुपर्नेमा उनीहरूले जोड दिएका छन् । फिनल्यान्डले पानी, सरसफाइ र स्वच्छता, शिक्षा र जलवायु उन्मुखता जस्ता विभिन्न क्षेत्रमा निरन्तर विकास सहयोग गरेकोमा नेपालले धन्यवाद दिएको छ ।

फिनल्यान्ड पक्षले नवीन सुविधा, विशेष गरी सार्वजनिक क्षेत्र लगानी सुविधामार्फत नेपालमा आफ्नो विकास सहयोग विस्तार गर्न इच्छुक रहेको धारणा बैठकमा राखेका थिए ।

बैठकमा क्षेत्रीय तथा विश्वव्यापी मञ्चमा सहकार्यका विषयमा पनि छलफल भएको थियो । दुवै पक्षले बहुपक्षीय फोरममा जलवायु परिवर्तन र बहुपक्षीय लगायत विश्वव्यापी मुद्दाहरूमा सँगै काम गर्न सहमत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालीको तर्फबाट परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूसँग अर्थ मन्त्रालय शिक्षा, विज्ञान र प्रविधि मन्त्रालय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र खानेपानी मन्त्रालयका प्रतिनिधि थिए ।

फिनल्यान्डको प्रतिनिधिमण्डलमा नेपालका लागि फिनल्याण्डका राजदूत रिना–रिक्का हेक्का र फिलल्याण्ड विदेश मन्त्रालयका अधिकारी तथा नेपाल फिनल्यान्डको राजदूतावासका अन्य अधिकारीहरू सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर