प्रधानमन्त्रीलाई संयुक्त राष्ट्रसङ्घ महासचिवको निमन्त्रणा — OSNepal

प्रधानमन्त्रीलाई संयुक्त राष्ट्रसङ्घ महासचिवको निमन्त्रणा

LC (KTM) June 06, 2024 0

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटरेसले आउँदो सेप्टेम्बरमा आयोजना हुने ‘समिट अफ द फ्युचर’ विषयक सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निमन्त्रणा गरेका छन् ।

नेपालस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि हाना सिङ्गरले प्रधानमन्त्री प्रचण्डलाई भेट गरी बिहीबार महासचिव गुटेरेसको निमन्त्रणा पत्र हस्तान्तरण गरेकी हुन् । प्रधानमन्त्री प्रचण्डले राष्ट्रसङ्घका महासचिवले नेपालको भ्रमण गरी यहाँको सरोकार र चासोलाई अन्तर्राष्ट्रियकरण गरेकोमा आभार व्यक्त गरे । उनले राष्ट्रसङ्घले आयोजना गरेको सम्मेलनमा भाग लिन आफू सकारात्मक रहेको पनि बताए ।

राष्ट्रसङ्घका आवासीय प्रतिनिधि सिङ्गरले संयुक्त राष्ट्रसङ्घको विश्वशान्ति अभियानमा नेपालले महत्त्वपूर्ण सहयोग गर्दै आएको बताइन् । उनले पछिल्लो समय जलवायु परिवर्तनमा नेपालले निर्वाह गरेको भूमिकाका लागि पनि नेपालले समिटमा भाग दिनुपर्ने बताइन् ।

संयुक्त राष्ट्रसङ्घको आयोजनामा आगामी सेप्टेम्बर २२ र २३ मा न्युयोर्कमा ‘समिट अफ द फ्युचर’ हुन लागेको छ । त्यसमा जलवायु परिवर्तन लगायत दिगो विकास लक्ष्य प्राप्तिका विषयमा छलफल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर