हरेक जनताको जीवनस्तर उकास्ने गरी सरकारले काम गरिरहेको छ: उपप्रधानमन्त्री श्रेष्ठ — OSNepal

 हरेक जनताको जीवनस्तर उकास्ने गरी सरकारले काम गरिरहेको छ: उपप्रधानमन्त्री श्रेष्ठ

LC (KTM) June 09, 2024 0
गोरखा–: उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले हरेक नेपाली जनताको जीवनस्तर उकास्ने गरी काम गरिरहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले गोरखाको सिरानचोक गाउँपालिका–८ मा   आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले राजनैतिक अधिकार प्राप्त गर्नेमा मात्र पछिल्लो राजनीतिक परिवर्तन समर्पित हुन नहुनेमा सरकार स्पष्ट रहेको बताउनुभयो ।
“जनताको जीवनस्तर कसरी फेर्न सकिन्छ भनेर हामी लागिपरेका छाैँ,” उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “गणतन्त्र प्राप्तिसँगै हरेक नेपाली जनताको सामाजिक, आर्थिक अधिकारसमेत परिवर्तन होस् भनेर सरकारले सोहीअनुसार काम गरिरहेको छ ।” जनताले अझै पनि राजनीतिक परिवर्तन पूरै अनुभूति गर्न नपाएको भन्दै उहाँले हरेक नागरिकको दैनिक जीवनस्तरमा परिवर्तन ल्याउन सके मात्र सबैले राजनीतिक परिवर्तनको महसुस गर्ने उल्लेख गर्नुभयो ।
“गणतन्त्रसँगै संविधानसभामार्फत बनेको संविधानले नेपाली जनतालाई थुप्रै अधिकार दिएको छ,” उहाँले भन्नुभयो, “तर संविधानप्रदत्त सबै अधिकार जनताले महसुस गर्ने गरी उपभोग गर्न पाइसकेका छैनन् ।”
उहाँले अहिले भएको परिवर्तनको मुख्य उद्देश्य हरेक जनताको जीवनस्तरमाथि उकास्नका लागि भएको बताउनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “आर्थिक तथा सामाजिक हिसाबले जनताको जीवनमा परिवर्तन ल्याउन नसके राजनीतिक परिवर्तनले मात्र परिवर्तनको अनभूति हुँदैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर