मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत पाउन कति सहज ? — OSNepal

मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत पाउन कति सहज ?

LC (KTM) June 09, 2024 0
गण्डकी, २७ चैतः संविधानको धारा १६८ (३) बमोजिम गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएका नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा उहाँ यही जेठ १६ गते दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
त्यसअघि मुख्यमन्त्री बन्नुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता खगराज अधिकारीले प्रदेशसभाबाट प्राप्त गरेको विश्वासको मतलाई सर्वोच्च अदालतले असंवैधानिक रहेको फैसला गरेपछि पाण्डे पुनः मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । अधिकारीले पाएको विश्वासको मतविरुद्ध दायर भएको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताका हैसियतमा पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
मुख्यमन्त्रीका नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । तर अहिलेको प्रदेशसभाको अङ्कगणित हेर्दा मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत पाउन सहज भने छैन । साठी सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७, एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी (माआवादी केन्द्र)का सात (सभामुखबाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र सदस्य हुनुहुन्छ ।
विश्वासको मत पाउन मुख्यमन्त्री पाण्डेलाई प्रदेशसभाका ३१ सदस्यको समर्थन चाहिन्छ । विपक्षी एमाले–माओवादी केन्द्रको गठबन्धनमा रहेका प्रदेशसभा सदस्यबाहेक सबैले मत दिँदा पनि उहाँलाई बहुमत पुग्दैन । यद्यपि उहाँहरुले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिने वा नदिनेबारे अहिलेसम्म कुनै निर्णय गर्नुभएको छैन । राप्रपा प्रदेशसभा संसदीय दलका नेता पञ्चराम गुरुङले विश्वासको मतबारे पार्टीले आधिकारिक निर्णय गरिनसकेको बताउनुभयो ।
“मुख्यमन्त्रीलाई विश्वासको मत दिने वा नदिनेबारे निर्णय गर्ने अधिकार पार्टीका केन्द्रीय अध्यक्षलाई छ, हेरौँ भोलिसम्म समय छ, माथिबाट जे निर्देशन आउँछ हामी त्यहीअनुसार अगाडि बढ्छौँ”, उहाँले भन्नुभयो । मनाङ ‘ख’बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङले भने ३० प्रदेशसभा सदस्यको समर्थन जसले जुटाउँछ उसैलाई निर्णायक मत दिने बताउँदै आउनुभएको छ । गुरुङ अधिकारी नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री बन्नुभएको थियो ।
माओवादी केन्द्रको चुनाव चिन्ह लिएर गोरखा-२ ‘क’ बाट निर्वाचित नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटालाई माओवादीले आफ्नै संसदीय दलको सदस्य दाबी गर्दै आएको छ । देवकोटालाई मतदानमा दलको ह्विप लाग्ने माओवादीको भनाइ छ । यसअघि उहाँले एमाले–माओवादी गठबन्धनबाट मुख्यमन्त्री बन्नुभएका खगराज अधिकारीलाई विश्वासको मत दिनुभएको थियो ।
यदि राप्रपाका दुई र स्वतन्त्र प्रदेशसभा सदस्य गुरुङले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिने अवस्था आएपनि पाण्डेलाई सरकार टिकाउन थप एक मतको खाँचो पर्छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले मुख्यमन्त्रीलाई विश्वासको मत दिन प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई औपचारिक रुपमै आग्रह गरिएको बताउनुभयो । “असार १ गतेसम्म प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने छ, यस्तो अवस्थामा सबै राजनीतिक दलहरु जिम्मेवार ढङ्गले प्रस्तुत हुनुहुनेछ भन्ने हाम्रो विश्वास छ”, उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर