राजनीतिक स्थिरताका लागि लोकतन्त्रवादीले सोच्नुपर्ने बेला आएको छ: नेता डा कोइराला — OSNepal

राजनीतिक स्थिरताका लागि लोकतन्त्रवादीले सोच्नुपर्ने बेला आएको छ: नेता डा कोइराला

LC (KTM) June 10, 2024 0

काठमाडौँ, २८ जेठः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिक स्थिरताका लागि लोकतन्त्रवादीहरुले सोच्नुपर्ने बेला आएको बताउनुभएको छ । नेपाली कांग्रेसका पूर्वउपसभापति, पूर्वउपप्रधानमन्त्री, प्रजातान्त्रिक योद्दा शैलजा आचार्यको १५औँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले पटक-पटक सरकार फेरिने प्रवृत्तिले मुलुकको निरन्तर विकासमा समस्या भएको बताउनुभयो ।

“जहाँ राजनीतिक स्थिरता हुँदैन, त्यहाँ विकास पनि हुन सक्दैन, राजनीतिक स्थिरताका लागि लोकतन्त्रवादीहरुले सोच्नुपर्ने बेला आएको छ, अहिले राजनीतिक स्थायित्व छैन, आर्थिक विकास हुन सक्ने अवस्थामा छैन, सुशासन दिने अवस्था छैन”, उहाँले भन्नुभयो ।

नेता डा कोइरालाले विपी कोइराला र शैलजा आचार्यलाई सम्झेर काम गरेर अगाडि बढेमात्र कांग्रेसलाई पुरानो अवस्थामा फर्काउन सकिने बताउनुभयो । उहाँले आचार्य साहसीक व्यक्तित्वको धनी भएको उल्लेख गर्नुभयो ।
त्यस अवसरमा कांग्रेस नेता डा शशाङ्क कोइरालाले पार्टीभित्र हिम्मत र साहसी महिला नेत्री शैलजा आचार्य भएको बताउनुभयो । उहाँले देश विकासका लागि स्व आचार्यको योगदान महत्वपूर्ण भएको उल्लेख गर्नुभयो । पार्टीभित्र शैलजा आचार्यको योगदानलाई जुन तरिकाले सम्बोधन गर्नुपर्ने हो त्यो हुन नसकेको उहाँको भनाइ थियो ।

कांग्रेस नेता डा मीनेन्द्र रिजालले पार्टीलाई एकतावद्ध बनाएर अगाडि बढाउनका लागि शैलजा आचार्यको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो । पूर्वमन्त्री डा रिजालले सबैसँग उत्तिकै सम्बन्ध राख्न सक्न निडर महिला नेत्री शैलजा भएको बताउनुभयो । पार्टीलाई एकतावद्ध बनाएर अगाडि लैजानका लागि शैलजाले गरेको योगदान अविस्मरणीय रहेको डा रिजालले बताउनुभयो ।

कांग्रेस नेता एवम् पूर्वमन्त्री महेश आचार्यले विपी कोइरालाको विचारलाई आम जनमानसमा पुर्‍याउन शैलजाको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्नुभयो । विपी विचारको उत्तराधिकारीका रुपमा शैलजालाई लिनुपर्ने उहाँको भनाइ थियो । उहाँले कांग्रेसमा नीति, नेतृत्व र नैतिकताको सङ्कट देखिन थालेको उल्लेख गर्नुभयो ।

नेपाल सरकारका पूर्वमुख्यसचिव डा विमल कोइरालाले निष्ठा, इमान र लगनको त्रिवेणी शैलजा आचार्यमा भएको बताउनुभयो । “शैलजा आचार्य जलस्रोत मन्त्री हुँदा साना जलविद्युत् आयोजनालाई अगाडि बढाउने नीति लिनुभएको थियो, जसका कारण अहिले हामीले जलविद्युत्मा फड्को मार्न सकेका छौँ”, उहाँले भन्नुभयो ।

शैलजा आचार्य आदर्श समाजकी अध्यक्ष दुर्गा घिमिरेले शैलजा आचार्यको निष्ठा र आदर्शलाई देशव्यापी रुपमा फैलाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । शैलजा आचार्य स्मृति पोलिक्लिनिक कलेजका प्राचार्य सन्तबहादुर अधिकारीले शैलजा आचार्यको सम्झनामा ग्रामीण भेगमा सीपमुलक तालिम प्रदान गरी आयआर्जनसँग जोड्दै अगाडि बढ्दै गएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर