स्वास्थ्य मन्त्रालयले ‘एकद्वार सङ्कट व्यवस्थापन केन्द्र’ राष्ट्रिय सम्मेलन गर्दै — OSNepal

स्वास्थ्य मन्त्रालयले ‘एकद्वार सङ्कट व्यवस्थापन केन्द्र’ राष्ट्रिय सम्मेलन गर्दै

LC (KTM) June 10, 2024 0

काठमाडौँ, २८ जेठ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालमा आधारित ‘एकद्वार सङ्कट व्यवस्थापन केन्द्र’ को राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । मन्त्रालयको लैङ्गिक समानता तथा सामाजीकरण समावेशी शाखाका प्रमुख रोशनीदेवी कार्कीले आगामी भदौ महिनामा सम्मेलन गर्ने तयारी गरिएको र त्यसबारे आज सरोकारवालाबाट सुझाव सङ्कलन गरिएको बताउनुभयो ।

सम्मेलनमा सरकारी अधिकारी, घरेलु हिंसासम्बन्धी काम गर्ने गैरसरकारी संस्था, लैङ्गिक हिंसामा परेका व्यक्ति गरी करिब तीन सय जनाको सहभागी हुने कार्कीले जानकारी दिनुभयो । “मुलुक सङ्घीयता गइसकेपछि पनि लैङ्गिक हिंसा व्यवस्थापन सङ्घले नै गर्नुपर्छ भन्ने बुझाइ छ । यो सम्मेलनमार्फत अब लैङ्गिक हिंसा व्यवस्थापन सङ्घको मात्र नभई प्रदेश र विशेष गरी स्थानीय तहको हो भन्नेबारेमा साझा बुझाइ बनाउन सघाउ पुग्ने छ”, उहाँले भन्नुभयो ।

केन्द्रमा आर्थिक वर्ष २०८०÷८१ मा १० हजार पाँच सय ३३ लैङ्गिक हिंसामा परेकाको व्यक्तिको उपचार गरिएको तथ्याङ्क छ । तीमध्ये पाँच सय ७१ पुरुषले रहेका छन् । यसैगरी केन्द्रमा बलात्कारपीडित एक हजार सात सय ५४ जना, यौनहिंसा पीडित एक हजार दुई सय ९६ र शारीरिक हिंसा दुई हजार आठ सय ९७ जना र जबरजस्ती विवाहबाट पीडित चार सय ९४ जना रहेका छन् ।

मन्त्रालयले केन्द्रबाट प्रदान गर्ने सेवा प्रभावकारिताबारे जानकारी दिन सम्मेलन आयोजन लागेको हो । घरेलु हिंसामा परेका व्यक्तिको उपचारका लागि देशभरका ९४ अस्पतालमा केन्द्र स्थापना गरिएका छन् । केन्द्रले लैङ्गिक हिंसामा परेका बिरामीलाई स्वास्थ्य तथा चिकित्सकीय कानुनी सेवा, मनोसामाजिक परामर्श सेवा, सुरक्षा, सुरक्षित आवास गृह तथा पुनःस्थापना, शिक्षा तथा सशक्तीकरण र घरायासी पुनःमिलन गराउनेलगायतका कार्य गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर