अमेरिका पठाइदिने भन्दै चार करोड ठगी गरेकाे आराेपमा एक जना पक्राउ — OSNepal

अमेरिका पठाइदिने भन्दै चार करोड ठगी गरेकाे आराेपमा एक जना पक्राउ

LC (KTM) June 12, 2024 0

काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अमेरिका पठाउने भन्दै चार करोड ३३ लाखभन्दा धेरै रकम ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका अभियुक्त सोलुखुम्बको सोलु दूधकुण्ड नगरपालिका-११ घर भई हाल काठमाडाैं महानगरपालिका-३२ पुरानो सिनामङ्गल टाउनप्लानिङ (पेप्सीकोला) बस्ने ४६ वर्षीय नारायणकुमार खड्का रहेका छन् ।

पक्राउ परेका खड्काले विभिन्न व्यक्तिलाई रोजगारीका लागि अमेरिका पठाई दिन्छु भनी आफ्नो बैंक खातामा रकम जम्मा गर्न लगाई ठगी गर्ने गरेको जाहेरी प्रहरीमा दर्ता भएको थियो । उक्त ठगीमा संलग्न व्यक्तिलाई पक्राउ तथा खोजतलास गरी पाऊँ भनी दुर्गाबहादुर वली र कमला डाँगी बस्नेतले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका खड्काको ज्योति विकास बैंकको खातामा चार करोड ३३ लाख ६८ हजार एक सय १२ दशमलव ५५ पैसा विभिन्न व्यक्तिले जम्मा गरेको देखिएको छ । अमेरिका लैजाने प्रलोभन देखाएर पीडितलाई घानासम्म पुर्‍याइ अलपत्र बनाएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । अमेरिका र युरोपको सपना देखाएर प्रतिव्यक्ति १० लाखसम्म असुलेको प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले बताए ।

काठमाडाैं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई निजलाई विशेष टोलीले कञ्चनपुर भिमदत्त नगरपालिका-११ गड्डा चौकीबाट सोमबार पक्राउ गरी काठमाडाैं ल्याएको हो । ठगीमा पर्ने मध्येका जाहेरवाला कमला डाँगी बस्नेतले विभिन्न मितिमा ३८ लाख ३५ हजार र दुर्गाबहादुर वलीले विभिन्न मितिमा आठ लाख २० हजार रकम जम्मा गरेको पाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर