राप्रपा प्रदेशसभा सदस्यलाई प्रशिक्षण — OSNepal

राप्रपा प्रदेशसभा सदस्यलाई प्रशिक्षण

LC (KTM) June 12, 2024 0
काठमाडौँ-  राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना प्रदेशसभा सदस्यका लागि आयोजना गरेको तीनदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित राजनीतिक वृत्तिविकास प्रशिक्षणमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सदस्यहरुले खेल्नुपर्ने भूमिका, सञ्चार तथा सामाजिक सञ्जाल व्यवस्थापन, वृत्तिविकासका पक्षहरु, विकास, योजना छनोट, बजेट, कानुनी एवं संवैधानिक विषयहरुमा प्रशिक्षण प्रदान गरिएको छ ।
कार्यक्रमको पहिलो दिन पार्टीका वरिष्ठ नेता ध्रुवबहादुर प्रधानले प्रशिक्षणको उद्घाटन गर्दै राजनीतिक वृत्तिविकासका लागि र सांसदहरुको क्षमता विकासलाई ध्यान दिएर प्रशिक्षण सञ्चालन गरिएको बताउनुभयो । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले मिडियासँगको सम्बन्ध र अन्तर्वाताका बारेमा प्रशिक्षण दिनुभयो । त्यस्तै वरिष्ठ अधिवक्ता एवं संविधानविद डा भीमार्जुन आचार्यले नेपालको संविधान र सङ्घीयताले पार्ने असरका विषयमा प्रदेशसभा सदस्यहरूलाई प्रशिक्षित गर्नुभयो ।
त्यस्तै पार्टीका नेता, सदस्य र सांसदहरुले कसरी सामाजिक सञ्जालको प्रयोग गर्ने भन्ने विषयमा पत्रकार उमेश श्रेष्ठले प्रशिक्षण सञ्चालन गर्नुभयो । प्रशिक्षणको दोस्रो दिन पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सैद्धान्तिक रूपमा राप्रपा सङ्घीयताको विरोधमा रहेपनि यहि संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्ने पार्टीको नीतिलाई कसरी उपयोग गर्ने र विकास निर्माणमा कसरी सहभागी हुने भन्ने बारेमा प्रशिक्षण र निर्देशन दिनुभयो ।
प्रशिक्षणका क्रममा पार्टीका पूर्वअध्यक्ष एवं निर्देशक समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले अर्थ राजनीतिका आयाम र सांसदको भूमिका शीर्षकमा प्रशिक्षण दिनुभयो । त्यस्तै, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले वृत्तिविकास र नेतृत्व विषयमा र पूर्वसचिव राजीव गौतमले प्रदेशसभा सञ्चालन, विधि निर्माण र सदस्यहरुको भूमिकामा र अर्का पूर्वसचिव केवलप्रसाद भण्डारीले समष्टिगत अर्थव्यवस्था र योजना निर्माणको सैद्धान्तिक र व्यावहारिक पक्षका बारेमा सांसदलाई प्रशिक्षित गर्नुभयो ।
प्रशिक्षणको तेस्रो दिन राप्रपाका मुख्यसचिवसमेत रहनुभएका पूर्वसचिव केदारबहादुर अधिकारीले प्रदेशको वित्तीय तथा प्रशासनिक व्यवस्थापनः सम्भावना र चुनौतीका बारेमा प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणमा राप्रपाका तर्फबाट विभिन्न प्रदेशमा प्रतिनिधित्व गर्ने २५ जना सदस्य सहभागी थिए । सातै प्रदेशमा गरी राप्रपाका २८ जना प्रदेशसभा सदस्य छन् ।
समापन समारोहमा अध्यक्ष लिङ्देनले जनअपेक्षाअनुरुप योजना छनोट, विकास निर्माणमा सक्रिय हुन सांसदलाई निर्देशन दिनुभयो । उहाँले विगतमा अनेकन जोखिम उठाउँदै पार्टीलाई आजको अवस्थासम्म ल्याइएको र अझै राजनीतिक कार्यभार बककाकी रहेकाले पार्टीको सङ्गठन निर्माणमा जुट्न सांसदलाई अनुरोध गर्नुभयो । पूर्वअध्यक्ष पशुपतिशमशेर जबराले झिनामसिना कुरालाई वेवास्ता गरेर राप्रपालाई आगामी निर्वाचनमा देशको अग्रणी शक्ति बनाउन आफ्नो ठाउँमा अहोरात्र खट्न प्रशिक्षार्थीलाई अनुरोध गर्नुभयो । सहभागी प्रशिक्षार्थी सांसदलाई अध्यक्ष लिङ्देनले प्रमाणपत्र पनि प्रदान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर