कोरोना सङ्क्रमणबाट ३५ वर्षीय वडाध्यक्षले अकालमै ज्यान गुमाए — OSNepal

कोरोना सङ्क्रमणबाट ३५ वर्षीय वडाध्यक्षले अकालमै ज्यान गुमाए

LC (KTM) May 08, 2021 0

मार्तडी,२५वैशाख- नयाँ भेरियन्टको कोरोना सङ्क्रमणबाट बाजुरामा ३५ वर्षीय एक वडाध्यक्षको मृ त्यु भएको छ । मृ त्यु हुनेमा बडीमालिका नगरपालिका–९ का वडाध्यक्ष विनोदकुमार विक हुनुहुन्छ ।सङ्क्रमणपछि जिल्ला अस्पतालको आइसोलेशनमा उपचाररत विकलाई थप उपचारका लागि डडेल्धुरा पठाइएकामा जाँदै गर्दा अछामको साँफे बगरमा मृ त्यु भएको आफन्त राजेश विकले बताउनुभयो ।

कोभिडबाट वडाध्यक्ष तामाङको निधन
नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड –१९) का कारण शङ्खरापुर नगरपालिका वडा नं.–४ का अध्यक्ष बुद्धिबहादुर तामाङको निधन भएको छ । उहाँलाई कोभिड भएपछि उपचारका लागि गोकर्णेश्वर नगरपालिका वडा नं. –८ स्थित नेपाल मेडिकल कलेज अत्तरखेलमा राखिएको थियो ।

वडाध्यक्ष तामाङको उपचारका क्रममा आज दिउँसो निधन भएको नगरपालिकाका प्रवक्ता हितमान तामाङले जानकारी दिनुभयो । उहाँको यही वैशाख २१ गते साँखुस्थित पिपुल्स लाइफ केयर अस्पतालले स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएकामा पोजेटिभ रिपोर्ट आएको थियो । एक रात नगर अस्पताल इन्द्रायणीमै राखी उपचार गरिएको थियो ।

नगर अस्पतालमा उपचार गराइरहेका बेला वडाध्यक्ष तामाङलाई अप्ठ्यारो भएपछि थप उपचारका लागि नेपाल मेडिकल कलेज लगिएको नगरपालिकाको वडा नं.–७ का अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । त्रिचालीस वर्षीय तामाङ मधुमेह रोगबाटसमेत पीडित हुनुहुन्थ्यो । उहाँका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । साविकको लप्सेफेदी गाविसको वडा नं.–३ निवासी तामाङ विसं २०७४ को निर्वाचनमा हालको शङ्खरापुर वडा नं.–४ बाट नेपाली काँग्रेसका तर्फबाट निर्वाचित हुनुभएको थियो । उहाँ काँग्रेसको वडा सभापतिसमेत हुनुहुन्थ्यो ।

नगरपालिकामा नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण हुनेको सङ्ख्या ८२ पुगेको छ । यसअघि पहिलो चरणमा १६९ जना सङ्क्रमित भएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक एवं कोभिड सम्पर्क व्यक्ति लक्ष्मीराज जोशीले राससलाई जानकारी दिनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर