मलेसियामा कोरोनाका कारण फेरि उच्च मृत्युदर, झण्डै १९ हजार नयाँ सङ्क्रमित — OSNepal

मलेसियामा कोरोनाका कारण फेरि उच्च मृत्युदर, झण्डै १९ हजार नयाँ सङ्क्रमित

LC (KTM) August 09, 2021 0

मलेसियामा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरूको दैनिक सङ्ख्या फेरि उच्च भएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा मलेसियामा ३६० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

योसँगै मलेसियामा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरूको कूल सङ्ख्या १० हजार ७४९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका महानिर्देशक नुर हिशाम अब्दुल्लाहले सोही अवधिमा मलेसियामा थप १८ हजार ६८८ जना नयाँ सङ्क्रमित थपिएको जानकारी दिनुभयो । तीमध्ये १० जना बाहिरबाट सरेर सङ्क्रमित भएका र अरू आन्तरिक रूपमै सरेको पनि उहाँले बताउनुभयो ।

मलेसियामा कोरोनाभाइरसबाट अहिलेसम्म कूल सङ्क्रमितहरूको सङ्ख्या १२ लाख ६२ हजार ५४० पुगेको छ ।

सङ्क्रमितमध्ये १७ हजार ५५ जना भने पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका छन् । एकैदिनमा नयाँ सङ्क्रमितहरूको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या थोरै भएकाले अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्यामा वृद्धि भएको छ ।

मलेसियामा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरूको कूल सङ्ख्या दुई लाख २५ हजार ३९३ रहेको छ । तीमध्ये एक हजार ९५ जनालाई अति सघन कक्षमा राखिएको छ भने ५७१ जनालाई श्वास प्रश्वासमा सहयोगको आवश्यकता परेको छ ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिलेसम्म सङ्क्रमणमुक्त भइसकेकाहरूको कूल सङ्ख्या भने १० लाख २६ हजार ३९८ पुगेको छ । यो सङ्ख्या कूल सङ्क्रमितहरूमध्येको ८१।३ प्रतिशत हो ।

कोरोनाभाइरसका कारण दैनिक मृतक र सङ्क्रमितहरूको सङ्ख्यामा वृद्धि हुँदै गएपछि सरकारले प्रतिबन्धात्मक व्यवस्थाहरूमा कडाइ गर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर