काठमाडौँ ३ जेठ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले तीन वर्षअघि आजै दिन दुई पार्टी मिलेर नेकपा बनेको स्मरण गरेका छन् । २८औं मदन–आश्रित स्मृति दिवसका अवसरमा प्रधानमन्त्री ओलीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकीकरण भएको स्मरण गरेका हुन् । आज सोमबार एक वक्तव्य जारी गर्दै ओलीले केहि नेताहरुको विभाजनकारी सोचले गर्दा नेकपालाई निष्कर्षमा पुर्याउन नसेकेको बताएका छन् ।
प्रधानमन्त्री ओलीबाट जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘तीन वर्षअगाडि आजैका दिन हामीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकीकरण गरेका थियौं । यो विभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने, राष्ट्रियता, सामाजिक आर्थिक रूपान्तरण र समाजवाद निर्माणको मुख्य संवाहकका रूपमा नेपाल कम्युनिस्ट पार्टीलाई स्थापित गर्ने र यसलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको च्याम्पियन बनाउने हाम्रो इमानदार प्रयास थियो’।
कतिपय नेताहरूका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण नेकपालाई स्थापित गरेर समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने प्रयास सफल हुन नदिइएको ओलीले आरोप लगाएका छन् ।नेकपालाई विस्थापिवत गरेपनि अब नेकपा (एमाले) उक्त एकीकरणको बिरासतलाई अगाडि बढाउँदै नयाँ स्वरूपमा पुनःस्थापित भएको ओलीको दावी रहेको छ ।
‘हामी कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने यस अभियानमा निरन्तर लागिरहन कृतः सङ्कल्पित छौं ।’ जारी गरिएको वक्त्तव्यमा भनिएको छ । साथै मदन भण्डारीले राष्ट्र तथा नेपाली जनताका लागि पुर्याएका योगदान दूरगामी महत्त्वको र अतुलनीय रहेकोह भन्दै ओलीले नताको बहुदलीय जनवादको निरन्तर रक्षा, कार्यान्वयन र विकास गर्दै जाने दावी समेत गरेका छन् ।