आश्रम निर्माणमा दाता जुट्दै — OSNepal

आश्रम निर्माणमा दाता जुट्दै

Kesh Karki (USA) August 17, 2021 0

यहाँ निर्माणाधीन मानव सेवा आश्रमका लागि स्वेच्छिक सहयोग जुट्न थालेको छ । जिल्लालाई ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ बनाउने अभियानमा सक्रिय आश्रमको भवन निर्माणमा दाताहरू जोडिएका हुन् ।

गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयको रु ५० लाख बजेटबाट निर्माण थालिएको भवनका लागि व्यक्तिगत तवरबाट पनि सहयोग आउन थालेको आश्रमका संयोजक सुमिरा लामाले जानकारी दिनुभयो । उहाँका अनुसार बागलुङ नगरपालिका–३ निवासी व्यवसायी सरोजकुमार र रमा श्रेष्ठले रु एक लाख ११ हजार र वडा नं २ का राजेश भारी र आशा राजभण्डारीले ५० बोरा सिमेन्ट उपलब्ध गराउनुभएको छ ।

“उहाँहरूले स्वतःस्फूर्त रूपमा आश्रम निर्माणका लागि सहयोग गर्नुभएको हो”, संयोजक लामाले भन्नुभयो, “अब सार्वजनिकरूपमै सहयोगको आह्वान गर्छौँ, त्यसबाट धेरै दाता थपिने हाम्रो विश्वास छ ।” मानवीय सेवाको पवित्र उद्देश्य राखेर आश्रम बनाउन लागिएकाले सबै पक्षबाट सहयोगको हातेमालो हुनेमा आश्रम व्यवस्थापन ढुक्क छ । उसो त अहिले अस्थायी संरचनाबाट चलेको आश्रमको दैनिक सेवा पनि दाताकै भरबाट चलेको छ ।

आश्रम खुलेको पाँच वर्षपछि बागलुङ नगरपालिका–४ निरयघाटमा बन्न लागेको भवनका लागि राज्यका तर्फबाट पनि ठूलो लगानी परेको छ । गत आवमा प्रदेश सरकारबाट बजेटको सुनिश्चितता भएपछि बल्ल भवन निर्माणले गति लिएको थियो । यस आवमा पनि प्रदेशबाट थप रु ५० लाख र बागलुङ नगरपालिकाबाट रु १० लाख बजेट विनियोजन भएको संयोजक लामाले बताउनुभयो । गत आवको बजेटबाट तीनतले भवनको पहिलो तला ढलानसहितको काम पूरा भएको उहाँको भनाइ छ ।

भवन निर्माणमा २० प्रतिशत जनश्रमदानसमेत जुटाइएको निर्माण समितिका अध्यक्ष एवं आश्रमका अभिभावक शिव खड्काले बताउनुभयो । बजेट अपुग नभए आउँदो दुई वर्षभित्रमा आश्रमको निर्माण पूरा गर्ने लक्ष्य लिइएको उहाँको भनाइ छ । आश्रम निर्माणका लागि बागलुङ नगरपालिकाले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको थियो । सय जना अट्ने गरी भवनभित्रको संरचना बन्ने भएको छ । योग, ध्यान र प्रशिक्षणका लागि छुट्टै कक्ष हुनेछ । आश्रमका सबै पूर्वाधार खडा गर्दा झण्डै रु १० करोडको बजेट अनुमान गरिएको छ ।

तीनै तहका सरकार, निजी क्षेत्र र दाताहरूबाट स्रोत जुटाएर भवन निर्माणलाई पूर्णता दिइने आश्रमले जनाएको छ । बागलुङ नगरपालिकाले यसअघि नै आश्रमको अभिभावकत्व ग्रहण गरिसकेको छ । नगरपालिकाकै पहलमा जग्गाको जोहो भएपछि भवन निर्माणको टुङ्गो लागेको थियो । अहिले बागलुङ बजारस्थित अर्कैको घरबाट अस्थायीरूपमा आश्रम सञ्चालित छ ।

सुविधायुक्त भवन बनेपछि आश्रमको सेवा पनि व्यवस्थित बन्ने जनाइएको छ । ठाउँ अभावले गर्दा अहिले भएको संरचनाबाट धेरै जनालाई आश्रय दिन नसकिने स्थिति छ । “अर्को वर्षभित्रमा बागलुङलाई सडक मानवरहित घोषणा गर्ने तयारी छ, भवन निर्माणले पनि त्यो लक्ष्य हासिल गर्न ठूलो आधार तयार गर्छ”, संयोजक लामाले भन्नुभयो ।

आश्रमले सडकमा अलपत्र दिनदुःखीको उद्धार, पालनपोषण र परिवारसँग पुनःमिलन गराउँदै आएको छ । अहिले आश्रममा ५३ जना बेसहारा नागरिकले आश्रय लिइरहेका छन् । आश्रम मनोरोग, अपाङ्गता, गरिबीलगायतका कारणले सडकमा पुगेका सहयोगापेक्षीको सहारा बन्दै आएको छ । अहिलेसम्म सयौँ सडक मानवलाई उद्धार गरिसकिएको छ । तीमध्ये कैयनको परिवारसँग पुनःमिलन भएको छ ।

आश्रमले सडकबाट उद्धार गरिएका बालबालिकालाई पढाइमा समेत लगाउने गरेको छ । परिवार र समाजबाट अपहेलित भएर सडकमा पुगेका नागरिकको संरक्षण गर्ने उद्देश्यले स्थानीय अभियन्ता तथा स्वयंसेवी युवाहरूको पहलमा विसं २०७२ मा आश्रम खोलिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर