सानो संसारु मार्फत कलिउडमा पाइला टेकेकी नम्रता यसकारण बनिन् दर्शकको प्रिय — OSNepal

सानो संसारु मार्फत कलिउडमा पाइला टेकेकी नम्रता यसकारण बनिन् दर्शकको प्रिय

LC (KTM) August 30, 2021 0

काठमाडाैं, १४ भदाै – अभिनेत्रीको भीडमा अभिनयकै कारण चर्चामा आउने गर्छिन् नम्रता श्रेठ । स्वर्गीय निर्देशक आलोक नेम्वाङद्वारा निर्देशित फिल्म ‘सानो संसार’ मार्फत कलिउडमा पाइला टेकेकी नम्रताले आफ्नो क्यारेक्टर मार्फत धेरै दर्शकको प्रिय बनेकी छिन् ।उनकाे जीवन्त अभिनयले दर्शकको मन जित्ने गर्छ । पछिल्लो समय जाइरामा देखिएकी नम्रता त्यसयता पर्दामा आएकी छैनन् । उनी कोरोना भाइरसबाट अवस्था सामान्य तर्फ मोडिएपछि ‘प्रसाद’को सिक्वेल र राजीव गुरुङको निर्देशनमा बन्ने फिल्ममा काम गर्नेछिन् ।

यद्यपि यी दुईमध्ये कसको छायाँकन पहिले हुन्छ भन्ने टुंगाे लागिसकेकाे छैन । उनी आफैँलाई पनि मन पर्ने क्यारेक्टर है, ऋतु । किनकि यहिँ भूमिकामार्फत उनले पहिलो पटक दर्शकसँग भेटघाट गरेकी थिइन्, फिल्म ‘सानो संसार’ मार्फत । उनले यो भूमिका निर्वाह गर्न अडिसन दिएकी थिइन् । फिल्ममा उनि चञ्चले युवतीको भूमिकामा थिइन् ।

‘आलोक दा’ले मलाई तिमी जस्ती छौ, त्यस्तै गर्नु भन्नु भाको थ्यो,’ नम्रताले सम्झिन् । यद्यपि उनले याे भूमिका निभाउन निकै मिहिनेत गर्नु परेकाे थियाे ।उनलाई रुचाइएको अर्काे क्यारेक्टर हो, शिखा । सुदर्शन थापाको निर्देशनमा बनेकाे फिल्ममार्फत उनले आर्यन सिग्देलसँग पहिलोपटक जोडी बाधेकी थिइन् । यो फिल्मपछि दर्शकले आर्यन र नम्रताको रिल जोडी रुचाए । ‘सानो संसार’ मा चुलबुले नम्रता हेर्न पाएका दर्शकले यसमा गम्भीर स्वभावको नम्रतालाई पाए । फिल्मले राम्रो प्रतिक्रिया पाएको थियो । केही समय अघि यसको सिक्वेल बन्ने चर्चा भए पनि मूर्तरुप पाउन सकेको छैन ।

नम्रताले फरक शैलीमा अभिनय गरेकाे फिल्म हो ‘छड्के’ । फिल्ममा उनले शोलीको भूमिका निर्वाह गरेकी थिइन् । रोमान्टिक फिल्ममा देखिरहेकी नम्रतालाई निगम श्रेष्ठ निर्देशित यो फिल्ममा बिल्कुलै फरक रुपमा दर्शकले पाए । ‘क्यारेक्टरकै लागि कपाल पनि काटेकी थिए तर क्युट देखियो भनेर निर्देशकले विक लगाई दिनु भएको थियो,’ नम्रताले सम्झिन् । शोली पात्र उनको लागि आफैँमा पनि एक्सपेरिमेन्ट थियो ।

शोली मात्र होइन नम्रताले फरक भूमिका निर्वाह गरेको क्यारेक्टर मौन फिल्ममा पनि छ । उनले निर्वाह गरेको वर्षाले सुन्न तथा बोल्न नसक्ने थियो । ‘यो भूमिका गर्नु अगाडि मैले झन्डै महिना दिन उहाहरुको जीवनलाई नियाल्ने मौका पाएको थिए । उहाँहरु हरेक कुरामा अपडेट भएको देख्दा र स-साना कुरामा खुसी भएको पाउँदा आफैँ सरप्राइज पनि भएकी थिए,’ नम्रताले सांकेतिक भाषा सिकेकी थिइन् । यो भूमिका मार्फत उनको अभिनय क्षमताको झनै प्रस्टियो ।

यसपछि उनलाई सम्झिने क्यारेक्टर हो दृष्टि । दिनेश राउत निर्देशित क्लासिक फिल्ममा उनले आँखाको ज्योति गुमाएकी एक कलाकारको भूमिका निर्वाह गरेकी थिइन् । दृष्टिलाई आँखा देख्न नसक्ने म्युजिक लभरको रुपमा प्रस्तुत गरिएको थियो । यो फिल्ममार्फत उनले धेरै अवार्ड जितिन् । ‘धेरै गेटअप परिवर्तन गरे, दृष्टिक लागि । किनकि मैले त्यसको निम्ति उहाँहरु (दृष्टिविहीन) सँग केही समय बिताएकी थिए । मलाई मौनकै वर्षाले पनि यसमा केही सहयोग त गरेको थियो । तर, यसका लागि पनि मिहिनेत कम थिएन,’ नम्रताले भनिन् । फिल्मको छायाँकन सकिएपछि पनि केही समयसम्म आँखा एकोहोरो हेरिरहने गर्थिन्, नम्रता ।

उनलाई मन पर्ने क्यारेक्टर जाइरा पनि हो । फिल्मको लागि उनले कपाल समेत निकै छोट्याएकी थिइन् । उनले फिल्म निर्माण मात्र गरिनन् , फाइट पनि सिकिन् । उनले फरक भूमिका गर्ने क्रममा आफूलाई एक्सन अवतारमा प्रस्तुत गरेकी थिइन् । यो उनको लागि आफैँमा नौलो थियो । आफूलाई पाएको भूमिकालाई जीवन्त बनाउन सक्ने नम्रताले पाइपलाइनमा रहेका फिल्ममा भने सफ्ट क्यारेक्टर नै रोजेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर