बाँदर आतंकले रित्तिँदै गाउँ — OSNepal

बाँदर आतंकले रित्तिँदै गाउँ

LC (KTM) September 03, 2021 0

तेह्रथुम, १७ भदौ -छथर गाउँपालिकाका स्थानीयहरू बाँदरको समस्यालाई बसाइँ सर्न थालेका छन् । सुरुमा सुविधा खोज्दै स्थानीयहरु बसाइँ सर्न थालेपछि बाँदरले बालीनालीसमेत नष्ट गर्न थालेपछि बसाइँ सर्नेको संख्या बढ्न थालेको हो । समयसँगै मानवबस्ती पातलिँदै जाँदा बाँदरको आतंक बढ्न थालेपछि स्थानीयहरू बसाइँ सर्ने क्रम बढेको छथर २ का भीमबहादुर थापाले बताए ।

तमोर नदीसँगै जोडिएका बस्तीहरुमा बाँदरले अन्नबाली सखाप पार्न थालेको वर्षाैं भइसक्दा पनि समस्याको समाधानको निम्ति स्थानीय सरकारलेसमेत ध्यान नदिएको थापा गुनासो गर्छन् ।
मेहेनत परिश्रम गरी उब्जाइएको अन्नबाली बाँदरले सखाप पार्न थालेपछि परिवार चलाउन नै मुस्किल परेपछि स्थानीयहरू बसाइँ सर्न थालेका हुन् । बाँदरसहित अन्य जंगली जनावरले पनि दुःख दिने गरेको स्थानीय शेरबहादुर कार्की बताउँछन् ।

बांदरले घरभित्र छिरेर मकै, कोदो, आलु, जस्ता अन्नपातहरुसमेत नस्ट गर्न थालेको उनको भनाइ छ । ‘जंगली जनावरका कारण सबै जमिन बाँझो भइसक्यो, लगाएको बाली पनि सखाप भयो, अब बसाइँ सर्ने तयारीमा छु’, थापाले न्युज कारखानासँग भने ।

घरभित्र छिरेर अन्नपात, पकाएको खाना र भाडासमेत बोक्न थालेपछि गाउँभरी नै बाँदरको आतंक बढेको कर्णबहादुर लिम्बुले बताए । गतबर्ष मात्रै दर्जन बढी यहाँका स्थानीय बसाइँ गएका छन् । अझै बसाइँ सर्नेक्रम नरोकिएको स्थानीय बताउँछन् ।

गत वर्ष वासुुदेव भट्टराई, राजन भट्टराई, भीम थापा, भक्तबहादुुर कार्कीलगायत धेरै परिवार बसाइँ सरे । १० परिवार बसाइँ सर्ने तयारीमा छन् । छथर गाउँपालिकाको सुदाप, ओख्रे, फाक्चामारा, पञ्चकन्या, हमरजुंग, र आङदिममा बाँदर आतंक रहेको छ ।

किसानहरुको समस्यालाई समाधानको निम्ति छथर गाउँपालिकाले बाँदर नियन्त्रण गर्नका लागि आवाजजन्य सामाग्री परीक्षण गर्ने तयारी भइरहेको अध्यक्ष सन्तवीर लिम्बुले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर