भारतमा ३३ हजार ३७६ जना कोरोना सङ्क्रमित थपिए , ३०८ जनाको मृत्यु — OSNepal

भारतमा ३३ हजार ३७६ जना कोरोना सङ्क्रमित थपिए , ३०८ जनाको मृत्यु

LC (KTM) September 11, 2021 0

नयाँ दिल्ली, २६ भदौ – भारतमा कोरोनाभाइरसबाट थप ३३ हजार ३७६ जना सङ्क्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले शनिबार विहान दिएको जानकारीअनुसार नयाँ थपिएका सङ्क्रमितमध्ये २५ हजार १० जना केरलाका राज्यमा मात्रै रहेका छन् । पछिल्लो समय केरलामा दैनिक सङ्क्रमितको सङ्ख्या अत्यधिक धेरै देखिएको छ । भारतका बाँकी भू–भागमा भन्दा केरलामा सङ्क्रमितको सङ्ख्या धेरै देखिएको हो ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ३२ लाख आठ हजार ३३० पुगेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ९१ हजार ५१६ रहेको छ ।

त्यसैगरी भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म मृत्यु भएकाको सङ्ख्या चार लाख ४२ हजार ३१७ पुगेको छ । तीमध्ये ३०८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । सोही अवधिमा ३२ हजार १९८ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या भने तीन करोड २३ लाख ७४ हजार ४९७ रहेको छ । भारतमा केही हप्तादेखि दैनिक सङ्क्रमितको सङ्ख्यामा बृद्धि हुँदै आएपनि पछिल्ला केही दिनमा घटबढ हुने गरेको पाइएको छ । (रासस÷एएनआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर