प्रदेश २ सभाको अंकगणित फेरियो, महन्थको दल प्रमुख प्रतिपक्षी — OSNepal

प्रदेश २ सभाको अंकगणित फेरियो, महन्थको दल प्रमुख प्रतिपक्षी

LC (KTM) September 12, 2021 0

जनकपुरधाम, २७ भदौ – निर्वाचन आयोगबाट दुई दल लोकतान्त्रिक समाजवादी (लोसपा) र नेकपा एकीकृत समाजवादीले दलको मान्यता पाएसँगै प्रदेश २ सभाको अंकगणित फेरिएको छ ।

जनता समाजवादी पार्टीबाट अलगिएपछि प्रदेश २ सभाका १६ जना सांसदले लोसपामा सनाखत गरेसँगै लोसपा प्रमुख प्रतिपक्षीको भूमिकामा देखिएको हो । १६ जना सांसले सनाखत गरेसँगै लोसपा प्रदेश सभामा तेस्रो ठूलो दल बनेको छ ।

सबैभन्दा ठूलो दल जसपाका ३८ सांसद छन् । दोस्रो ठूलो दल कांग्रेससँग १९ सांसद छन् । जसपा र कांग्रेस सत्ता साझेदार दल हुन् । तेस्रो ठूलो दल लोसपासँग १६ र पाँचौ ठूलो दल नेकपा एमालेसँग ८ सांसद छन् । लोसपा र एमाले भने प्रतिपक्षमा छन् । चौथो ठूलो दल नेकपा एकीकृत समाजवादी भने सरकारमा जाने तयारीमा छ । एकिकृत समाजवादीसँग १३ सांसद छन् । सत्तासाझेदार नेकपा माओवादी केन्द्रसँग ८ जना सांसद रहेका छन् ।

निर्वाचन आयोगले प्रदेश २ मा लोसपाको पक्षमा सनाखत गरेका १६ जनालाई आधिकारिकता दिएको छ । लोसपाको पक्षमा उपेन्द्र महतो, जानकीशरण साह, गौरीनारायण साह, परमेश्वर साह सुडी, सुरिताकुमारी साह, बबिताकुमारी, बाबुलाल साहकानु, निलमदेवी भूमिहारीन रहेका छन् । यस्तै अभिरामशर्मा, रानीकुमारी तिवारी, जयनुल राइन, अलकाकुमारी झा, डिम्पल झा, जितेन्द्र कुमार सोनार र रमेशकुमार कुर्मी लोसपासँग छन् ।

उनीहरू १५ जना पूर्व राजपाका हुन् । पूर्व समाजवादी पार्टीबाट एक जना प्रह्लादगिरी गोस्वामीले लोसपाको पक्षमा सनाखत गरेका छन् ।

लोसपाको पक्षमा सनाखत गर्ने सांसदहरूलाई निर्वाचन आयोगले मान्यता दिएको बताउँदै सांसद परमेश्वर साहले दलको विधान लेख्न, अनुमोदन गर्न र दलको नेता चयन हुन हप्ता दिन लाग्ने बताए । लोसपा प्रदेश २ मा जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर