भरतपुर अस्पताललाई भरतपुर महानगरपालिकाको स्वास्थ्य सामग्री सहयोग — OSNepal

भरतपुर अस्पताललाई भरतपुर महानगरपालिकाको स्वास्थ्य सामग्री सहयोग

LC (KTM) September 18, 2021 0

भरतपुर-भरतपुर अस्पताललाई भरतपुर महानगरपालिकाले स्वास्थ्य सामग्री सहयोग गरेको छ । महानगरपालिकाले अस्पताललाई रु ५० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । महानगर प्रमुख रेनु दाहालले अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्ण पौडेललाईस्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।

इसिजी मेसिनसहित कोभिड–१९ सम्बन्धी स्वास्थ्य सामग्री महानगरले हस्तान्तरण गरेको हो । सो अवसरमा भरतपुर महानगरप्रमुख दाहालले कोभिड–१९ को उपचारमा भरतपुर अस्पतालले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गरिएको बताउनुभयो । काठमाडौँलगायत विभिन्न जिल्लाबाट हेलिकोप्टरबाट कोभिडका बिरामी उपचारका लागि भरतपुर आएको भन्दै कोभिड उपचारमा कुनै कमी हुननदिएको उहाँको भनाइ थियो ।

स्वास्थ्य सामग्रीको सही सदुपयोग गर्दै सेवालाई अझ बढी प्रभावकारीरूपमा प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो । मित्रराष्ट्र चीनको सिगात्से सिटी र बेइजिङ एग्रो बायोटिकले महानगरलाई उपलब्ध गराएको स्वास्थ्य सामग्री भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको हो ।

सो अवसरमा प्रदेशसभा सदस्य गीता वाग्लेले भरतपुर अस्पतालको सेवा प्रभावकारी भइरहेको बताउनुभयो । अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले भरतपुर महानगरबाट अस्पतालको विकासमा निरन्तर सहयोग भइरहेको भन्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुभयो । कार्यक्रममा मेडिकल सुपरिटेण्डेन्ट पौडेलले सबैको सल्लाह र सुझाव अनुसार नै अस्पताललाई अगाडि बढाउने जानकारी दिनुभयो । .

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर