अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभलमा ‘महानगर’ — OSNepal

अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभलमा ‘महानगर’

LC (KTM) May 09, 2021 0

काठमाडौं -भारतको कोलकाता फिल्म फेस्टिभलमा वल्र्ड प्रिमियर भएको फिल्म ‘महानगर’ अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभलमा छनोट भएको छ । फिल्मका क्रिएटिभ प्रोड्युसर नवनिधि दाहालले फिल्मको अमेरिका प्रिमियर सोही फेस्टिभलसँगै हुने जानकारी गराएका छन् । मोहन राई निर्देशित फिल्म कोलकाता फिल्म फेस्टिभलमा फिल्म एसियन सेलेक्टअन्तर्गत दि नेटवर्क फर दि प्रमोसन अफ एसियन सिनेमा (नेटप्याक) अवार्डका लागि प्रतिस्पर्धात्मक विधामा छनोट भएको थियो । ‘अञ्‍जली’ र ‘सखी’ नामका दुई फिल्म बनाएका मोहनको ‘महानगर’ फिचरमा डेब्यू फिल्म हो । ‘अञ्‍जली’ तेस्रो लिंगी अञ्‍जली लामाको जीवनीमा बनाएको डकुमेन्ट्री फिल्म हो भने ‘सखी’ छोटो फिल्म । फिल्मले विश्वका ९३ देशबाट सहभागिताका लागि आएका २५ सय फिल्मबाट फेस्टिभलमा ठाउँ बनाएको हो । यो फेस्टिभलको २४ औं संस्करण हो । फेस्टिभल मे २८ देखि सुरु भएर जुन ६ सम्म चल्नेछ ।

कार्म र मेनुका प्रधानको मुख्य भूमिका रहेको फिल्मले एक रातको कथा भन्छ । सानो घटनाका कारण सँगै रात गुजार्न बाध्य उनीहरुको जीवनमा त्यही रातले ल्याउने परिवर्तन फिल्मको कथा हो । फिल्ममा अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डे आदि कलाकार पनि अभिनय रहेको छ । फिल्मलाई माउन्टेन रिभर फिल्म्स्को सहकार्यमा मिडलवे फिल्म्स्ले निर्माण गरेको हो ।

निर्देशक मोहन राई स्वयंको लेखन रहेको यो फिल्मको कार्यकारी निर्मातामा गोविन्द पराजुली तथा क्रिएटिभ निर्माता नवनिधि दाहाल रहेका छन् । फिल्ममा नरेन्द्र मैनालीको छायांकन, संगम पन्थीको संगीत र परीक्षित झाको सम्पादन छ ।ब्रुकलिन फिल्म फेस्टिभलमा यसअघि दुई नेपाली फिल्मले सहभागिता जनाइसकेका छन् । सन् २००९ मा ‘सारी सोल्जर्स’ यो फेस्टिभलमा छनोट भएको थियो भने सन् २०१७ मा सुनिल पाण्डे निर्देशित सर्ट फिल्म ‘अनन्त यात्रा’ पनि यहाँ छनोट भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर