चाडपर्वका लागि भारतबाट घर फर्किने नेपाली बढ्दै — OSNepal

चाडपर्वका लागि भारतबाट घर फर्किने नेपाली बढ्दै

LC (KTM) September 27, 2021 0

दार्चुला, ११ असोज-दशैंतिहार जस्ता चाडपर्व नजिकिँदै गएपछि यहाँ भारतबाट घर फर्किने नेपाली सीमामा बढ्न थालेका छन् । यहाँका पुलघाट नाका, दत्तु नाका, लेकमको लाली नाका र व्यासको तिगरम नाका भएर अहिले दिनहुँ घर फर्किने नेपाली बढ्न थालेका छन् ।

भारतबाट घर फर्किनेको सीमामा स्वास्थ्य परिक्षणसमेत गरिन थालेको छ । असोजयता सय बढी नेपाली खलङ्गा पुलघाट नाका भएर घर फर्किएको नेपाल प्रहरीका पुलघाट इन्चार्ज मनोज खड्काले जानकारी दिनुभयो । पुलघाटमा भारतका विभिन्न क्षेत्रबाट फर्किने नेपालीको अहिले तथ्याङ्क नियमित राख्न थालेको उहाँले बताउनुभयो । उनीहरुमा कोरोनाको सङ्क्रमण नदेखियोस् भन्ने विवरण राख्न थालिएको उहाँले जानकारी दिनुभयो ।

“खेतीको काम पनि आयो, दशैं पनि नजिकिन थाल्यो”, बुधबार पुलघाट नाका भएर घर फर्किएका बझाङको बुगल नगरपालिका–८ का प्रकाश बोहराले भन्नुभयो, “अब दशैंतिहार मनाएर फेरि भारत फर्किन्छौं ।” उहाँ पिथौरागढ डिडिहाटमा काम गर्न जानुभएको थियो । यहाँका अधिकांश व्यक्ति भारतबाट दशैंतिहारमा घर फर्किने गर्छन् । अहिले गाउँमा धान काट्ने, मकै काट्ने, खर काट्नेलगायतको कामको चटारो हुने भएपछि घर फर्किने बढेका हुन् ।

अहिले दार्चुलाबाट धनगढी तथा महेन्द्रनगर जाने बस पनि खचाखच भरिन थालेका छन् । चाडपर्वका कारण अहिले बसहरुमा यात्रु भरिन थालेको सुदूरपश्चिम यातायात काउन्टरका पूर्णबहादुर बमले बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर