जलविद्युत आयोजनाको सुरुङमा पुरिँदा २८ वर्षीय रामकृष्णको मृत्यु — OSNepal

जलविद्युत आयोजनाको सुरुङमा पुरिँदा २८ वर्षीय रामकृष्णको मृत्यु

LC (KTM) September 27, 2021 0

खोटाङ, ११ असोज-सोलुखुम्बुको लिखु जलविद्युत आयोजनाको सुरुङमा पुरिएर खोटाङको खोटेहाङ गाउँपालिका–८ सिमपानीका २८ वर्षीय रामकृष्ण राईको मृत्यु भएको छ ।सोमबार बिहान ३ बजे जलविद्युत आयोजनाको सुरुङभित्र काम गरिरहेको अवस्थामा माथिबाट खसेको ढिस्कोले पुरिँदा राईको घट्नास्थलमै मृत्यु भएको हो । उनी करिब महिना दिनअघि मात्र जलविद्युत आयोजनाको काम गर्न सोलुखुम्बु पुगेका थिए । आफन्त घट्नास्थल पुगेपछि मात्र राईको शव उठाउने तयारी गरिएको लिखु जलविद्युत आयोजनाका इन्जिनियर गणेश शर्माले बताए ।

सुरुङभित्र काम गरिरहेको अवस्थामा ढिस्को खस्दा रामकृष्ण करिब चार सय मिटर तल खसेका थिए । सुरुङमा ढिस्कोले पुर्दा दोलखा जिरीका २१ वर्षीय जगत श्रेष्ठ र ओखलढुंगा मोलुङका २८ वर्षीय प्रविन्द्र राई घाइते भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारको लागि हेलिकप्टरबाट केएमसी अस्पताल काठमाडौं पठाइएको छ । जानकारी पाएलगत्तै प्रहरी चौकी किन्जा र प्रहरी चौकी चौलाखर्कबाट प्रहरीको टोली घट्नास्थल पुगेको छ ।

खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले भने घटनाका विषयमा जलविद्युत आयोजनाका प्रतिनिधिले परस्पर बाझिने कुरा गरेको बताए । ‘घरी सुरुङमा ढिस्कोले पुरिएको कुरा, घरी चिया खान जाँदै गर्दा लडेको भन्ने कुरा आयो,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘घटनाको यथार्थ विषय बाहिर आउनु पर्छ । पीडितका तर्फबाट न्यायोचित क्षतिपूर्ति उपलव्ध गराउनु पर्छ भन्ने कुरा अघि बढाएको छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर