दिक्तेलमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क निर्माणको काम शुरु — OSNepal

दिक्तेलमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क निर्माणको काम शुरु

LC (KTM) May 22, 2021 0

खोटाङ, ८ जेठ – जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क निर्माणको काम शुरु गरिएको छ । मासिक रु छ लाखभन्दा बढी राजश्व सङ्कलन गर्ने स्रोतका रूपमा विकास गर्ने गरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयसँगको साझेदारीमा दिक्तेलस्थित रत्नपार्कमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क निर्माणको काम शुरु गरिएको हो ।

तल्लो तलामा २३ वटा सटर र माथिल्लो तलामा २३ वटा सटर हुने दुईतले सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क रु तीन करोड ९६ लाखमा पूरा गर्ने गरी निर्माण कम्पनी उमा–लामा–अनशुवी जेभीले निर्माणको ठेक्का लिएको छ । विसं २०७९ फागुन मसान्तसम्ममा सम्पन्न हुने उक्त सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्कमा मन्त्रालयको रु दुई करोड ५७ लाख र नगरपालिकाको रु एक करोड ३९ लाख खर्च हुने सम्झौतामा उल्लेख छ ।

तल्लो तलाको सटरमा कोशेलीघर, नगरपालिकाको तरकारी, जिल्ला कृषकले उत्पादन गरेका कृषि उपज सङ्कलन केन्द्रलगायतका कक्ष राखेर अन्य कोठा व्यावसायिक प्रयोजनकै लागि भाडामा लगाइने नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । “एउटै छानामुनि नुनदेखि सुनसम्म उपलब्ध गराउने हाम्रो लक्ष्य हो”, उहाँले भन्नुभयो, “ बीच भागमा भने केटाकेटी खेल्ने स्वीमिङ पुल, पिङलगायतका भौतिक संरचनासहितको आकर्षक पार्क निर्माण गरिने छ ।”

भाडावापत मासिक रु छ लाखभन्दा बढी राजश्व सङ्कलन गर्ने दिगो माध्यमका रूपमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्कलाई विकास गर्ने नगरपालिकाको लक्ष्य छ । निर्माणका लागि कोरोना कहरकैबीचमा पनि सचेतता अपनाएर हाल सञ्चालनमा रहेको प्रहरी बुथलगायतका भौतिक संरचना हटाउने काम तीव्रगतिमा भइरहेको ठेकेदार कम्पनीका प्रतिनिधि सुनिल राईले बताउनुभयो ।

नगरपालिका र पर्यटन मन्त्रालयबीच पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिकाबमोजिम गर्ने, पालिकाले खरिद प्रक्रिया सम्पन्न गरी ठेक्का सम्झौता भएपश्चात सम्झौता रकममा लागत साझेदारी गर्ने, विद्युतीय खरिद प्रक्रियामार्फत कार्यक्रम गर्ने, ठेक्का सम्झौता भएपछि सम्झौता रकमको मन्त्रालयले बेहोर्ने भारको २० प्रतिशत रकम प्रथम किस्तावापत सम्बन्धित पालिकामा पठाउने, थप रकम कार्यक्रम कार्यान्वयनको प्रगतिका आधारमा निकासा गर्नेगरी द्विपक्षीय सम्झौता भएको छ । मन्त्रालयको गत भदौ २ गतेको सूचनामार्फत माग भएको पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम सञ्चालनका लागि नेपाल सरकार मन्त्रीस्तरको माघ २९ गतेको निर्णयानुसार साझेदारी आयोजनाका रूपमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्क छनोट भएको हो ।

यसैबीच दिक्तेलबजारको सडक ढलानका लागि यस वर्ष थप रु पाँच करोड बजेट प्राप्त भएको छ । पहिलो चरणमा दिक्तेलबजारको किराँतचोकबाट सिँचाइ गेट, त्रिवेणीचोकबाट मालपोत कार्यालय र पुरानो बैंकचोकबाट झिसेपु मन्दिर जाने सडकखण्ड ढलान भइसकेको अवस्थामा बाँकी खण्डको आरसिसी ढलान गर्नका लागि शहरी विकास मन्त्रालयबाट उक्त थप बजेट प्राप्त भएको हो ।

दिक्तेलबजारको बाँकी खण्ड ढलानका लागि अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाले शहरी विकास मन्त्रालयलाई रु पाँच करोडसम्मको सीमाभित्र रहेर निर्माण अगाडि बढाउन सहमति दिने निर्णय गरेको छ । अर्थ मन्त्रालयले शहरी विकास मन्त्रालयको चालु आर्थिक वर्षको विनियोजित बजेटमध्ये खर्च हुन नसक्ने रकमबाट बजारका सडक ढलान गर्ने बजेट व्यवस्थापन गर्न भनेको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर